जनता टाइम्स

४ पुष २०७८, आईतवार १९:१५

सर्वदलीय बैठकमा एमसीसीबारे बहस, एक्लियो कांग्रेस, बैठकमा विरोध


काठमाडौं, ४ पुस । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारले संसदमा पेस गर्ने संकेत गरेपछि आज बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा विरोध भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्‍मा एमसीसी पेस गर्ने संकेत गरेपछि सत्ता गठबन्धनका नेताहरुले नै बिरोध गरेका हुन् ।

बैठकमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले दिएको जानकारी अनुसार सरकारी पक्षबाट एमसीसी पास गर्ने संकेत मिलेपछि नेकपा माओवादी कन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सांसद् वेदुराम भुसालले विरोध जनाउनुभएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने संशोधनपछि मात्रै पारित गर्नुपर्ने बताउनुभएको थियो ।

एमसीसीका विषयमा प्रधानमन्त्री देउवाले धारणा राख्न आग्रह आफूले विभिन्न धाराहरुका सन्दर्भ उल्लेख गरेर त्यसलाई राष्ट्रघाती भएको बताएको उहाँले बैठकपछि जानकारी दिनुभयो । सुवालका अनुसार एमसीसीबारे राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमोर्चाले पनि बिरोध गर्नुभएको थियो । तर जसपा र कांग्रेस भने एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।

तर, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भन्नुभयो संशोधन गरेर पास गर्नुपर्ने बताउनुभयो । यता सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने एमसीसीका बारेमा थप छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको बताउनुभयो । एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने बारेमा दलहरुले विचार राखेको उहाँको भनाइ थियो ।