काठमाडौं, ५ पुस । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनुभएको छ । आज त्रिविको ४७औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नव–प्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ । अहिलेको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ ।’ समारोहका प्रमुख अतिथि तथा आईआईटी दिल्लीका निर्देशक प्राध्यापक भी रामगोपाल राओले विश्व अप्ठारो परिस्थितिमा गुज्रिएको उल्लेख गर्नुभयो ।
‘जटिल परिस्थितिमाझ ‘कोभिड ब्याच’ पुस्तालाई दीक्षित तुल्याउनु आफैंमा चुनौतीपूर्ण छ,’ आविस्कारलाई नयाँ मन्त्रका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो,‘यो चुनौतीलाई आईआईटी दिल्लीले अनलाइन शिक्षाका माध्यमबाट नयाँ अवसरको खोजी गरेको छ । अहिले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।’
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ५९औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएको जानकारी दिनुभयो । त्यसमा विद्यावारिधि, डिएमरएमसीएच, दर्शनशास्त्री (एमफिल), स्नातकोत्तर र स्नातक तहका छन् । कोभिड–१९ महामारीपछि दुई वर्षयता बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय क्षेत्रभित्रै समारोहको गरिँदै आएको छ । दीक्षान्तमा उपाधि लिने, स्नातकोत्तर र स्नातकमा सर्वोत्कृष्ट विद्यार्थी मात्र आमन्त्रण गरिएका थिए ।













प्रतिक्रिया दिनुहोस्