जनता टाइम्स

६ पुष २०७८, मंगलवार १८:१०

एमाले अध्यक्ष ओलीको गर्जन : नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन (भिडियोसहित)


कपिलवस्तु, पुस ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको तथ्य राख्नुभएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा आज आयोजित बिशाल जनसभामा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको तथ्य राख्नुभएको हो ।

ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको तथ्य पनि राख्नुभयो । आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको उहाँको भनाई थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमाले विकासको नीति लिएरअघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गर्दै देशभर एमाले प्रवेशको लहर चलेको बताउनु भयो । प्रचण्ड र माधव नेपालप्रति इंगित गर्दै उहाँले राधेराधेको नाम लिएर झुक्याउन आउने बताउनु भयो ।

ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताउनु भयो । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भन्नुभयो । उहाँले कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताउनु भयो ।