जनता टाइम्स

७ पुष २०७८, बुधबार ०८:२३

एनआरएनए कतारले मनायो १९औँ स्थापना दिवस


दोहा, पुस ७ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले १९औँ स्थापना दिवस मनाएको छ । एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो ।

कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले संघले कोरानाको समयमा गरेको मानवीय कार्यको प्रशंसा गर्नुभयो । खनालले सरकारले एनआरएनएले देशको समृद्धि र विकासका कार्यमा सहयोग गर्छन भन्ने अपेक्षा गरेको बताउनु भयो ।

खनालले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहने भन्दै प्रवासमा रहदा नेपालको पर्यटनबारे प्रचारप्रसार गरेर नेपालमा पर्यटक पुर्‍याउन तथा अन्य क्षेत्रमा लगानी भित्र्याउन पहल गर्न आग्रह पनि गर्नुभयो ।

आइसीसी सचिव आरके शर्माले संस्था विभाजन गर्ने कुरा सोच्न पनि नहुने बताउनु भयो । ‘८० लाख नेपालीहरुको आत्मा जोडिएको संस्थाको समस्या समाधानको बाटोमा गैरहेको जनाउँदै शर्माले यो संस्थाप्रति धेरै नेपालीको आस्था र भरोसा रहेको बताउनु भयो । २०२१–२३ का लागि केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार शर्माले चुनावी दौरानमा धेरै मतभेद भएको तर समस्या समाधान हुने जानकारी दिनुभयो ।

मानार्थ आइसीसी सदस्य शनि कुमार ओलीले एनआरएनएमा संगठनात्मक समस्या पैदा भएको र यो समस्या समाधान गर्न वर्तमान नेतृत्व असफल भएको आरोप लगाउनु भयो । एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाले एनआरएनए आइसीसीमा देखिएको समस्या आइसीसीबाट मात्रै नभएर एनसीसीबाट नै सुरुवात भएको बताउनु भयो ।