काठमाडौं, पुस ७ । नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको छ । संयन्त्रका संयोजक एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो ।
समितिमा संयन्त्रका सहसंयोजक रचना खडकासहित जनसंगठन इञ्चार्जसमेत रहनुभएका पोलिटब्युरो सदस्यहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरुङ तथा केन्द्रीय सदस्य माधव ढुंगेल र बिष्णु रिजाल सदस्य हुनुहुन्छ । बैठकमा जनसंगठनका इञ्चार्ज र अध्यक्षहरुले पार्टी केन्द्रीय कमिटीमा अनिवार्य प्रतिनिधित्वको ब्यवस्था हुनुपर्ने कडा दवाव दिएका थिए । इञ्चार्ज र अध्यक्षहरुको सुझावपछि बैठकले कार्यदल गठन गरेको हो ।
संयोजक ढकालका अनुसार कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने ? जनसंगठनबाट विदा भएकाहरू पार्टी काममा पुगेका छैनन भने कसरी पुर्याउने ? भन्ने विषयमा छलफल गरेर संयन्त्रको बैठकमा सुझाव पेश गर्नेछ । सोही सुझावका आधारमा फागुनसम्ममा जनसंगठनहरूले अधिवेशन र सम्मेलन सम्पन्न गर्नुपर्नेछ ।
संयन्त्रको बुधबारको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव कमरेड शंकर पोखरेल, जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू उपस्थित हुनुभएको थियो । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय अनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशन÷सम्मेलन आयोजना गर्नका लागि आ–आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय पनि गरेको छ ।













प्रतिक्रिया दिनुहोस्