जनता टाइम्स

८ पुष २०७८, बिहीबार ०८:१०

माओवादी केन्द्रको प्रदेश-१ अध्यक्षमा हर्क नेम्वाङ विजयी, यी हुन चुनावबाट छानिएका पदाधिकारी


बिराटनगर, पुस ८ । नेकपा माओवादी केन्द्रको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी हुनुभएको छ । नेतृत्व तथा पदाधिकारीका लागि हिजो भएको निर्वाचन प्रक्रियाबाट नेम्वाङ लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

माओवादीले प्रदेश सम्मेलन मंसिर २५ र २६ गते नै गरेको भए पनि नेतृत्वका आकांक्षी धेरै हुँदा पदाधिकारी चयन गर्न सकेको थिएन । त्यतिबेला छानिएका २ सय ४० प्रदेश सदस्यहरुबीच मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो । अन्तिम मतपरिणामअनुसार हर्कले १ सय ६९ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी मुक्सामहाङ म्याङवोले ६४ मत पाउनु भएको छ । नवनिर्वाचित अध्यक्ष हर्कबहादुर नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुनुहुन्छ ।

अन्तिम समयसम्म अध्यक्षका लागि प्रयास गरिरहेका शिवकुमार डाँगीले अन्तिममा उपाध्यक्षमा उम्मेद्वार बन्नुभएको थियो । डाँगी ११३ मत प्राप्त गरी बिजयी हुनुभएको छ । यस्तै उपाध्यक्षमा १२० मतसहित विजयी भएका देवान चाम्लिङले पनि अध्यक्षमा दावी गर्नुभएको थियो । ३ उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको थियो । यस्तै मणि कुमार राईले १११ मत ल्याएर उपाध्यक्षमा बिजयी हुनुभएको छ । अध्यक्षमै दावी गरेका मोहन खत्री भने उपाध्यक्षमा पराजित हुनुभयो । उपाध्यक्षमा दुई महिला पनि प्रतिस्पर्धामा थिए । तर उनीहरु पराजित रहे ।

सचिवमा गणेश उप्रेती १४८ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सीपी कडरियाले ८३ मतमात्र पाउनु भएको छ । यस्तै सहसचिवमा कुमारी राई, ऋषिराम ढुंगाना, र सागर किराँती विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ११४, ९५ र ७३ मत पाउनु भएको छ । तीन सहसचिवका लागि १४ जनाको उम्मेदवारी परेको थियो । कोषाध्यक्षमा रेवत राज पुरी बिजयी हुनुभउको छ । कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।