जनता टाइम्स

८ पुष २०७८, बिहीबार १३:४७

कांग्रेस केन्द्रीय समितिमा सुदूरपश्चिमबाट सभापति र सहमहामन्त्रीसहित १७ जना विजयी


मोहन जोशी, धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
देउवा कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएको हो । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँ यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

खुला केन्द्रीय सदस्यमा कञ्चनपुरका एनपी साउद र रमेश लेखक, डडेल्धुराका नैनसिंह महर तथा दार्चुलाका दिलेन्द्रप्रसाद बडू विजयी हुनुभएको छ । महिला केन्द्रीय सदस्यतर्फ डडेल्धुराकी आरजु राणा देउवा तथा कैलालीबाट ईश्वरी न्यौपाने विजयी हुनुभएको छ । भूगोलतर्फ कैलालीका डा. रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी, कैलालीकी सुशीला मिश्र भट्ट विजयी हुनुभएको छ ।

दलित खुलातर्फ कैलालीका नृपबहादुर वड र बझाङका प्रकाश स्नेही रसाइली विजयी हुनुभएको छ । थारु खुलातर्फ कैलालीका रामजनम चौधरी र जीवन राना, पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह तथा खस आर्यतर्फ अछामका गोविन्दबहादुर शाह विजयी हुनुभएको छ ।

जिल्लागत रूपमा हेर्दा डडेल्धुराबाट सभापतिसहित तीन जना, बाजुराबाट एक सहमहामन्त्री, कैलालीका ६ जना केन्द्रीय सदस्य, कञ्चनपुरका तीनजना केन्द्रीय सदस्य, बझाङबाट दुईजना केन्द्रीय सदस्य तथा अछाम र दार्चुलाका एक/एकजना केन्द्रीय सदस्यमा विजयी भएका छन् । बैतडीबाट केन्द्रीय सदस्य निर्वाचित भएका छैनन् ।

विजयी १७ मध्ये संस्थापन पक्षबाट १४ तथा इतर समूहबाट तीनजना विजयी भएका छन् । कांग्रेस सहमहामन्त्रीमा विजयी भएका बद्री पाण्डे, केन्द्रीय सदस्य दिलेन्द्र बडू र बझाङका प्रकाश स्नेही रसाइली इतर समूहका हुनुहुन्छ ।