काठमाडौं, पुस ९ , सरकारले राजपत्रांकित प्रथम श्रेणीका १३ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न निकायमा कार्यरत १३ जना सहसचिवको सरुवा गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले मधेसी आयोगको सचिवको जिम्मेवारीमा रहनुभएका सहसचिव लोकनाथ पौडेल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने उक्त जिम्मेवारीमा रहनुभएका राजेश्वर ज्ञवालीको मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।
मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, आदिवासी जनजाति आयोगको सचिवको जिम्मेवारीमा रहेका सहसचिव भोला दाहाल अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा, आयोगमा रहेका सहसचिव नीराजन घिमिरेको राष्ट्रिय दलित आयोगमा सरुवा भएको छ । यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत सहसचिव यमुना प्रधानको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका सहसचिव कमल भट्टराईको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयको उक्त महाशाखाको जिम्मेवारी मन्त्रालयमा अतिरिक्तमा रहेका रघुराम विष्टलाई दिइएको छ ।
यस्तै बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकृत तीर्थ चिलवालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव रहनुभएका सहसचिव ध्रुव गैँडाको बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । मन्त्रालयका अनुसार नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको बागमती प्रदेशको उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।













प्रतिक्रिया दिनुहोस्