जनता टाइम्स

१० पुष २०७८, शनिबार १५:१०

शंकर पोखरेलले खोले समाजवादतर्फको यात्रा रोक्न अदालतको फैसला आएको तथ्य (भिडियोसहित)


काठमाडौं, पुस १० । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सर्वाेच्च अदालतले पछिल्लो समय भइरहेको फैसलाहरु समाजवादतर्फको यात्रालाई रोक्नका लागि राजनीतिक बिचारबाट निर्देशित फैसला भएको तथ्य खोल्नुभएको छ । काठमाडौंमा आज आयोजित एमाले पेशागत बिशेष जिल्ला कमिटी कानून इलाकाको अधिवेशन उदघाटन गर्दै महासचिव पोखरेलले यस्तो तथ्य राख्नुभएको हो ।

गत बर्षको पुस ५ गते भएको प्रतिनिधिसभा बिघटनदेखि दोस्रो पटक प्रतिनिधिसभा बिघटन हुँदा आएको सर्वाेच्च अदालतको फैसला संबिधानवाद र संबिधानमा आधारित नरहेको तथ्यले पुष्टि गरिसकेको पोखरेलको भनाई छ । उहाँका अनुसार अदालत समाजवादतर्फको यात्रा रोक्नकै लागि राजनीतिक बिचारद्वारा निर्देशित भएर केपी शर्मा ओली नेतृत्वको सरकार हटाउन प्रयोग भएको बताउनु भयो ।

‘तथ्यहरुले प्रमाणित गरिसकेको छ, अदालत संबिधानवाद भन्दा धेरै बाहिर गएर राजनीतिक बिचारका आधारमा फैसला गर्यो, प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले गरेको काम शेरबहादुर देउवाले गरेको भए अदालतबाट अर्कै फैसला आउथ्यो, यो कुरामा अव कोही भ्रममा नपर्नाेस,’ पोखरेलले भन्नुभयो । उहाँले अदालतले संबिधानले किटानी गरेको समाजवादतर्फको यात्रा रोक्नकै लागि केपी ओलीलाई परमादेशमार्फत सरकारबाट हटाउने षडयन्त्रमा लागेको बताउनु भयो ।

‘अदालत राजनीतिको दुई ध्रुव बन्दा समाजवादको यात्रा रोक्ने कित्तामा पुग्यो, आज अदालतबाट भइरहेको फैसला समाजवादतर्फको यात्रालाई रोक्न गरिएका फैसलाहरु हुन,’ पोखरेलले भन्नुभयो । उहाँले मुलुकमा पछिल्लो समय भइरहेको दुई पक्षीय ध्रुबिकरणमा केपी ओलीले समाजवादतर्फको कित्ता र शेरबहादुर देउवाले पुँजीवादतर्फको कित्ताको नेतृत्व गरिरहेको तथ्यलाई पनि सबिस्तार ब्याख्या गर्नुभयो ।

‘केपी ओलीले नेतृत्व गरेको समाजवादतर्फको यात्राको कित्ता हो, शेरबहादुर देउवाले नेतृत्व गरेको ध्रुव पुँजिवादतर्फको यात्राको कित्ता हो । यो बिषयमा कोही भ्रममा पर्नु हुन्न,’ पोखरेलले भन्नुभयो । उहाँले समाजवादतर्फको यात्रा रोक्न अदालत र पाँच दलीय गठबन्धन मिलेर अघि बढेको तथ्य पनि राख्नुभयो । पोखरेलले थप्नुभयो, ‘केपी ओलीले गरेको काम देउवाले गरेको भए अदालतको फैसला यस्तै हुन्थ्यो ? यो सवैलाई थाह छ । यस प्रश्नमा जवाफ खोजियो भने सवै कुरा प्रष्ट हुन्छ । राजनीतिक बिचारका आधारमा निर्देशित भएर आएको फैसलालाई लिएर हामी भ्रममा पर्नु हुन्न, यही काम देउवाले गरेको भए अदालतको फैसला अर्कै हुन्थ्यो ।’

उहाँले संसदले जनताको अपेक्षाअनुसार काम नगर्दा जनतामा जाने कुरा नै सवैभन्दा सही रहेको र प्रधानमन्त्रीका रुपमा केपी ओलीले सोही काम गरेको बताउनु भयो । ‘प्रतिनिधिसभाले आफ्नो जिम्मेवारी पूरा गर्दैन भने जसरी पनि त्यो पाँच बर्ष टिक्नुपर्छ भन्ने कुरा लोकतन्त्र होइन । जनताको पक्षमा काम गरिरहेको छ भने त्यो ठीक हो । आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा जनताको बीचमा जानुपर्छ भन्ने कुरा नै लोकतन्त्र हो । जनताको पक्षमा नउभिने, राष्ट्रको पक्षमा नउभिने संस्थाहरु जसरी पनि टिकिरहनु पर्छ भन्ने कुरा लोकतन्त्र होइन,’ एमाले महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले पार्टीको कुरा आउदा कार्यकर्ताको संप्रभुता र राज्यको कुरा आउदा जनताको संप्रभुता नै राजनीति र लोकतन्त्रको महत्वपुर्ण बिशेषता रहेको बताउनु भयो । ‘हरदम केन्द्रबिन्दुमा राख्ने कुरा के हो भने पार्टीको कुरा आउँछ, कार्यकर्ताको संप्रभुता, राज्यको कुरा आउँछ जनताको संप्रभुता राजनीतिको, लोकतन्त्रको महत्वपुर्ण बिशेषता हो भन्ने कुरालाई शिरोपर गर्नुपर्छ,’ पोखरेलले भन्नुभयो ।