जनता टाइम्स

१० पुष २०७८, शनिबार १५:२०

सभापतिमा देउवासँग पराजित कोइराला वरियतामा २० नम्बरमा


काठमाडौं, पुस १० । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकेको छ ।
नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो । नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् ।

त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा रहेका छन् ।त्यसपछि शेखरलाई राख्दा उनको वरियता २० औंमा परेको हो । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै रहेका कोइरालाको त्यतिबेलाको वरियता ३५ औं नम्बरमा थियो ।नेपाली कांग्रेसमा यसअघिको महाधिवेशनमा सभापति पदमा दोस्रो स्थानमा रहेका उम्मेदवार सभापतिपछिको वरियतामा रहने प्रचलन थियो ।१३ औं महाधिवेशनमा देउवासँग पराजित रामचन्द्र पौडेलको वरियता देउवापछि दोस्रो स्थानमा कायम गरिएको थियो ।

त्यसअघि १२ औं महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा पराजित भएका देउवाको वरियता पनि दोस्रो स्थानमा कायम गरिएको थियो ।नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार यो वरियता स्थायी होइन । ‘पहिलो बैठक भएकाले आज यो वरियता मिलाइएको हो, अब एक समिति गठन गर्ने र समितिको सिफारिसका आधारमा वरियताक्रम तय हुन्छ’ उनले भने ।