जनता टाइम्स

११ पुष २०७८, आईतवार १०:०९

माओवादी केन्द्रमा प्रचण्डका खास अनुयायीहरु मात्र बाँकी : जसको विमति उसकै बहिर्गमन


काठमाडौं, पुस ११ माओवादी भनिदै माओवादी केन्द्रको विगतका महाधिवेशन र सम्मेलनसँग दाँज्ने हो भने अहिलेको मा‌ओवादीको सम्मेलनमा शून्यता छ । किनकि यो सम्मेलनसम्म आइपुग्दा माओवादी केन्द्र सम्म आईपुग्दा पुष्पकमल दाहाल प्रचण्डका खास अनुयायीहरु मात्र बाँकी छन् । जो जसले दाहालसँग वैचारिक संघर्ष गरे ती सबै पार्टीबाट पाखा लागिसकेका छन् । माओवादी केन्द्रको आइतबारबाट प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । पंचायतकालदेखि सशस्त्र युद्ध हुँदै शान्ति प्रक्रियामा आएर डेढ दशकदेखि संसदीय अभ्यासमा अभ्यस्त भइरहेको मा‌ओवादीमा नेतृत्व भने पुरानै छ ।

सम्मेलन, महाधिवेशन जे भए पनि तीन दशकदेखि पार्टीको मूल नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड नै हुनुहुन्छ । यसपटकको सम्मेलनले पनि मूल नेतृत्वबाहेकका केन्द्रीय नेताहरु मात्र चयन गर्दै छ । देशभरका प्रतिनिधि भेला पारेर हुँदै गरेको सम्मेलनमा कोही पनि दाहालको विकल्पको कुरा गर्न सकेका छैनन् । न त वैचारिक विषयमा दाहालसँग संघष नै गर्न आँट गरेका छन् । उहाँको विषयमा कोही चुइक्क समेत बोल्न सक्दैन । जो जतिले बोले उहाँहरु सवैको बर्हिगमन भएको छ ।

अर्कोतर्फ ३२ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका दाहाललाई राजनीतिक र संगठनात्मक नेतृत्वको चुनौती दिने नेताहरु टिक्न सकेका छैनन् । त्यसैले यो सम्मेलन दाहालको नेतृत्वलाई पुनस् वैधानिकता दिने एउटा मञ्चको रुपमा प्रस्तुत हुँदैछ । नेकपा (क्रान्तकारी माओवादी) का नेता सीपी गजुरेल दाहाललाई संगठनात्मक र वैचारिक रुपमा चुनौती दिने नेताहरु अहिले माओवादी केन्द्रमा नभएको र पार्टी झनै कमजोर बन्दै गएको दावी गर्नुभयो । अहिले नेकपा माओवादी केन्द्रमा प्रचण्डभन्दा सिनियर वा उनी जतिको हाइटको अर्को नेता छैन । त्यसैले अहिले पनि निर्विवाद अध्यक्ष हुने देख्छु, गजुरेलले भन्नुभयो उहाँ आफूसँग फरक मत राख्ने नेताहरुलाई मिलाएर लैजाने स्वभावको नेता होइन । माओवादी कति टुक्रामा विभाजित भयो त्यसले पनि देखाइहाल्छ ।

सेक्टर काण्डपछि दाहाललाई नेतृत्व सुम्पेका मोहन वैद्यमात्रै नभएर बाबुराम भट्टराई, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्द हुँदै गोपाल किराती, विश्वभक्त दुलाल आहुति, टोपबहादुर रायमाझी, हिसिला यमी, रविन्द्र श्रेष्ठ हुँदै मणि थापासम्म अहिले बाहिर रहनुभएको छ । आहुतिबाहेक अन्य नेताहरु जनयुद्धकालीन हुन् ।