जनता टाइम्स

१३ पुष २०७८, मंगलवार १५:३१

सेयर बजारप्रति प्रचण्डको नकरात्मक सोच , राजनीतिक प्रतिवेदनमा फेरि यसो भने


काठमाडौं, पुस १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारप्रति आफ्नो नेगेटिभ सेन्टिमेन्ट रहेको स्पष्ट पार्नुभएको छ । पार्टीको आठौं महाधिवेशनमा उहाँले पेश गरेको प्रतिवेदनमा सेयर बजारलाई अरूको सम्पत्ति हडपेर अकुत सम्पत्ति आर्जन गर्ने ठाउँ भएको उल्लेख गर्नुभएको छ । पछिल्लो समय सेयर बजारप्रति प्रचण्डको सेन्टिमेन्ट चर्चाको विषय बनेको छ ।

उहाँले सेयर बजरलाई पैसाबाट पैसा कमाउने, अनुत्पादक, साम्राज्यवादको नयाँ रूप जस्ता संज्ञा दिनुभएको छ । उहाँले छिटो पैसा कमाउनको लागि सेयर बजार र घरजग्गामा लगानी गर्ने प्रवृति बढेको बताउनुभएको छ । त्यही भावनालाई चित्रण गर्ने उहाँको राजनीतिक प्रतिवेदनमा सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचलाई अरुको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्ने ठाउँ बनेको उल्लेख छ ।

उहाँलेले देशको पुँजी उत्पादन क्षेत्रबाट वित्त क्षेत्रमा पलायन भएको भन्दै सेयर बजारको बारेमा आफ्नो पुरातनवादी शैलीलाई निरन्तरता दिनुभएको छ । प्रतिवेदनमा भनिएको छ, “उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो ।”