काठमाडौं, पुस १३। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीलाई जनताको हृदयमा एमालेलाई स्थापित गर्ने अभियानमा लाग्न प्रेस चौतारी नेपालका नेताहरूलाई निर्देशन दिनुभएको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रमा सम्बोधन गर्दै प्रमुख ढकालले पार्टीलाई जनताको बीचमा स्थापित गर्न जनसंगठनको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले एमाले र एमालेको सरकारले विगतमा गरेका राम्रा कामको प्रचार गरेर तीनै तहको निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्ने अभियानमा प्रमुख भूमिका निर्वाह गर्न पनि निर्देशन दिनुभयो । एमालेले नेतृत्वमा युवा र महिलाहरूको सहभागिता महत्वपूर्ण ढंगले गराएको बताउँदै त्यसको पनि प्रचार हुनुपर्ने बताउनुभयो । उहाँले एमालेका महासचिव शंकर पोखरेल पनि युवाहरूकै प्रतिनिधि भएको र सर्वसम्मत ढंगले पार्टीको मुल नेतृत्वमा स्थापित भएको भन्दै एमालेका नेताहरूको उमेर र जिम्मेवारीको विश्लेषण गरेर प्रचार गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनसंगठनको नेतृत्वलाई प्रभावकारी बनाउन मोर्चा संगठनले कार्यदल नै बनाएर काम गरिरहेको भन्दै त्यसको सुझावका आधारमा पार्टीले महत्वपूर्ण निर्णय लिने बताउनुभयो । उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले विगतका कमिजोरीबाट पाठ सिकेर सङ्गठनलाई एकताबद्ध बनाइ अघि बढ्न सुझाव दिनुभयो । एमाले पोलिटब्युरो सदस्य एवम राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराईले राम्रा कामको प्रचारप्रचारमा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजाल र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सङ्गठनलाई बलियो बनाउन सबैको एकता र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । बैठकले माघ २२ मा कास्कीको पोखरामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया दिनुहोस्