काठमाडौं, १५ पुस । माओवादी केन्द्रको जारी बन्दसत्रमा प्रतिवेदनबारे समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी रहेको छ आज बिहान ११ बजेबाट सुरु भएको बन्दसत्रमा ६ वटा समूहका प्रमुखहरुले प्रस्तुति राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो ।
अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महाराको निर्देशनमा अध्यक्ष मण्डलकी सदस्य पूर्णाकुमारी सुबेदीले बन्द सत्र सञ्चालन गरिरहनुभएको छ । आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको प्रस्तुति राख्नुभएको थियो । त्यसपछि सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामी, समूह नं. २२ बागमती प्रदेशको तर्फबाट समूह प्रमुख इन्द्रबहादुर थिङ (छिन्ताङ) ले आफ्नो समूहको तर्फबाट प्राप्त सुझाव तथा टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
यसअघि हिजो ११ समूहले निष्कर्ष सुनाएपनि १४ समूहको बाँकी रहेको थियो । बन्दसत्रमा अब ८ वटा समूहको प्रस्तुति बाँकी छ । समूहगत निष्कर्ष सकिएपछि बन्दसत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यसूची रहेको माओवादीले जनाएको छ । समूह टोली नेताले समग्रमा अध्यक्षको दस्तावेज सही भए पनि केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने बताइएको छ । उहाँहरुले वर्ग र नेपाली समाजबारे दस्तावेजमा विशेष रूपमा व्याख्या गर्न सुझाव दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्