जनता टाइम्स

१६ असार २०७६, सोमबार २०:२०

शिक्षित व्यक्ति बेरोजगार हुने, चाहिएको जनशक्ति नपाइने अवस्थाको अन्त्य हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, असार १६

मानव संशाधन प्रक्षेपण कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मानव संसाधन कार्यदलका निर्देशक समिति अध्यक्ष एवं शिषा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री ओलीलाई आज साँझ बालुवाटरमा प्रतिवेदन बुझाउनु भएको हो ।

सरकारले गत असोज २८ गते डा रुद्र सुवालको अध्यक्षतामा जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना कार्यदल गठन गरेको थियो । कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने जनशक्ति, रोजगारीको सम्भवनाबीचको तालमेल खोज्न सजिलो हुने बताउनु भयो । ‘यसअघि यति मिहिन ढंगले यस प्रकारको अध्ययन भएको थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले शिक्षित व्यक्ति बेरोजगार हुने तर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुने पनि बताउनु भयो । ‘एकातिर शिक्षित व्यक्ति बेरोजगार हुने, अर्कातिर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको अवस्थामा हाम्रो आवश्यकता र जनशक्तिबीच भेट हुदैन ।’ प्रतिवेदनमार्फत सरकारले जनशक्ति र देशको आवश्यकताका बारेमा विभिन्न कोणबाट बिश्लेषण गर्ने जानकारी पनि दिनुभयो ।