सुनसरी, पुस २३ । नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ ।
सुनसरी एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि भने तीन नेताहरूले आकाङ्क्षा राखेका छन् । अहिले देखिएका अनुहार भने कुनै नयाँ होनन् । जो यस अघि जिल्लाको पदाधिकारीमा बसेर काम सकेका छन् ।
अध्यक्षमा दाबी गर्ने मध्ये पूर्व संविधान सभा सदस्य रेवती रमण भण्डारी हुनुहुन्छ । भण्डारी यसअघि तत्कालीन नेकपा हुँदा पार्टीको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । नेकपा विभाजित भएर एमाले बनेसँगै उहाँलाई १० बुँदेको वकालत गर्दै आएका जिल्लाका नेताले नेतृत्व मान्न तयार नभएपछि भण्डारीले अध्यक्ष छाडनु भएको थियो ।
त्यस्तै अर्का अध्यक्षका आकाङ्क्षी हुनुहुन्छ हाल जिल्ला अध्यक्ष खेमराज पोखरेल । यस अघि जिल्ला उपाध्यक्षमा बसेर काम गरिसकेका पोखरेल अध्यक्ष दोहोर्याउने दाउमा हुनुहुन्छ । पोखरेल पार्टी प्रदेश कमिटी सदस्य तथा तत्कालीन केपी ओली सरकारले बनाएको सुकुम्वासी आयोग जिल्ला अध्यक्षसमेत हुनुहुन्थ्यो ।
एमाले संस्थापनले भण्डारीलाई अध्यक्ष बनाए पनि फरक मत राख्नेले पोखरेल अध्यक्ष हुनु पर्ने माग गरेका थिए । जिल्लामा देखिएको पार्टी भित्रको द्वन्द्वलाई निरुत्साहित पार्न दुवै पक्षका नेता तथा कार्यकर्ताले पोखरेललाई अध्यक्ष मानेका हुन् । त्यस्तै अध्यक्षका अर्का आकांक्षी इटहरीका मेयर द्वारिकलाल चौधरी देखिनुभएको छ। पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बन्नुभएका चौधरी स्थानीय तहको चुनाव अघि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँ प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्