काठमाडौं, पुस २४ । नेकपा एमालेको जिल्ला अधिवेशनबाट नेतृत्व चयनमा सहमति भन्दा चुनावतिरै प्रक्रिया अघि बढेको छ । शुक्रवार अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उदघाटन गर्नुभएको जिल्ला अधिवेशनमा नेतृत्वका लागि आकांक्षी निकै बढी देखिएपछि निर्वाचनबाट नेतृत्व चयनको बिधितिर गएको हो ।
अहिलेसम्म महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङ, सचिव टोपबहादुर रायमाझीको गृहजिल्ला अघाँखाँचीसहित पाल्पा र धादिङमा सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका छन । दाङमा हुकुमबहादुर बस्नेत, अर्घाखाँचीमा पिताम्बर भुसाल, पाल्पामा धनेन्द्र राज घिमिरे र धादिङमा भूमि त्रिपाठी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
एकैपटक उदघाटन भएको नेकपा एमालेका जिल्ला अधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहे पनि धेरै ठाउँमा निर्वाचनको तयारी अघि बढेको हो । नेकपा एकताका कारण लामो समयदेखि जिल्ला अधिवेशन नभएकाले नेतृत्वका लागि एकैपटक धेरै आकांक्षी देखिएपछि सहमति सकसपूर्ण बनेको एमाले नेताहरुको भनाई छ ।
धेरैजसो जिल्लामा आज बन्दसत्र र सहमतिको प्रयास सँगै चलिरहेको छ तर आकांक्षीहरु निर्वाचनबाटै नेतृत्व चयनको बाटोमा लागेपछि सकस परेको हो । जस्ले जिते पनि एमालेले जित्ने भन्दै आकांक्षीहरु देखिएपछि चुनावको बाटोतिर गएको हो । सहमतिको प्रयाश सफल नभएको जिल्लामा आइतवार निर्वाचन हुने छ । एमालेले यसपटक जिल्ला अध्यक्षदेखि पदाधिकारीसम्म सर्वसम्मतिको प्रयास गर्न सम्बन्धित जिल्ला इन्चार्जसहितका नेताहरुलाई निर्देशन दिएको छ ।
पदाधिकारी सहमति हुन सके पनि जिल्ला कमिटी सदस्यमा भने खुला प्रतिस्पर्धा गराउने नीति एमालेको छ । तर निर्वाचनमा प्यानल बनाउन भने प्रतिबन्ध लगाइएको छ । पदाधिकारीमा अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव निर्वाचित हुने व्यवस्था छ । उपसचिव एकजना महिला अनिवार्य गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्