चितवन, पुस पुस । नेकपा एमाले चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत शनिवारबाट सुरु भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति जुटाउन नसकेपछि भोलिसम्मका लागि अधिवेशन स्थगित भएको हो । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले भोलि पुस २६ गतेसम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।
चितवनमा अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने हुनुभएको छ । आफू उपाध्यक्षमा बस्ने भन्दै उहाँले न्यौपानेलाई अध्यक्षमा समर्थन गर्नुभएको हो । अध्यक्षमा आकांक्षा देखाउनु भएका खड्काले पनि अध्यक्षमा दाबी नरहेको प्रतिक्रिया दिनुभएको छ ।
बाँकी तीन आकांक्षीहरूमा पनि सहमतिबाटै अध्यक्ष चयन गर्ने प्रयास गरिएको छ । सर्वसम्मतिबाट अध्यक्ष चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरू छन् ।
शनिबार भएको बन्दसत्रमा आर्थिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित भएका छन् । त्यस्तै, जिल्ला कमिटीमा रहन चाहने इच्छुक नेताहरूको सूची बनाएर अध्यक्ष मण्डललाई दिइएको छ ।
न्यौपानेको सम्भावना बलियो
जिल्ला अध्यक्षका आकांक्षी रामप्रसाद न्यौपाने एमाले अध्यक्ष केपी ओली निकटका भएकाले पनि अबको अध्यक्ष न्यौपाने नै हुने सम्भावना बलियो छ । अन्य नेताहरूले अध्यक्षमा जोडदार माग गर्न सक्ने अवस्था छैन । अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई दिइएको अध्यक्षका आकांक्षी तेजेन्द्र खड्काले बताउनु भयो । ‘सहमतिका लागि अध्यक्ष मण्डललाई म्यान्डेट दिएको छ’, उहाँले भन्नुभयो, ‘मैले पनि सहमतिको लागि भनेर नेतृत्वलाई जिम्मा दिएको हो ।’
अधिवेशनका लागि स्थानीय तह र पेसागत सङ्गठनहरूबाट एक हजार ६०० प्रतिनिधि आएका छन् । अध्यक्षका आकांक्षी कृष्ण भुर्तेलले पनि सहमतिका लागि लचक बन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्