काठमाडौं, पुस २७ । नेपाली कांग्रेस दोलखा प्रदेश सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति शुक्र तामाङकी श्रीमती सीता वम्जन तामाङ दोलखा एमालेको जिल्ला कमिटी सदस्य पदमा निर्वाचित हुनुभएको छ । एमाले दोलखाको आइतबार सम्पन्न निर्वाचनबाट सीता जिल्ला कमिटी सदस्य पदमा निर्वाचित हुनुभएको हो। भुगोलतर्फ २ जनाको महिला सिटमा वैत्येश्वर गाउँपालिकाको कोटाबाट उम्मेदवारी दिनुभएकी उहाँले पहिलो मत प्राप्त गर्नुभयो । उक्त पदमा सीता सँगै यमुना मोक्तान पनि विजयी हुनुभएको छ।
कुल ८ सय ७ मत खसेको जिल्ला कमिटीको निर्वाचनमा सिताले ३ सय २० र यमुनाले २ सय ९४ मत प्राप्त गर्नुभयो। यो पदमा ५ जना उम्मेदवार रहनुभएको थियो । सीता र यमुना सँग प्रतिस्पर्धा गरेका ज्योती केसीले २८६, कमलकुमारी कार्कीले २३५ र तुलसा आचार्यले १७८ मत ल्याएउनु भएको थियो । वैत्येश्वर गाउँपालिका १ गैरीमुदीकी सिताका श्रीमान् शुक्र गत असोजमा सम्पन्न कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो।
गुण्डागर्दी पृष्ठभूमिका शुक्रले पछिल्लो समय गुन्डागर्दी छाडेर राजनितिमा जोडिदै आएको स्थानियबासी बताउछन् । क्षेत्रीय सभापति निर्वाचित भए पछि शुक्रले आउँदो स्थानीय चुनावमा कांग्रेसबाट वैत्येश्वर गाउँपालिका अध्यक्षको टिकट दाबी गर्दै आउनुभएको छ । आफूले पार्टीबाट टिकट नपाए श्रीमती सीतालाई एमालेबाट पालिका उपाध्यक्षको टिकटमा दाबी गराएर चुनाव लडाउने योजनामा शुक्र रहेको स्थानीय कांग्रेस कार्यकर्ताहरूले चर्चा गर्दै आएका छन्।












प्रतिक्रिया दिनुहोस्