जनता टाइम्स

३० पुष २०७८, शुक्रबार २०:०१

पाँच दलीय गठबन्धन नेपाली लागि नभई भारतका लागि कम्फर्टेवल रहेको प्रमाणित भयो : प्रदीप ज्ञवाली


काठमाडौं, पुस ३० । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारक बनेकोले गल्ती सच्याउने वा राजीनामा दिने बाहेकका बिकल्पमा पछाडि नहट्ने बताउनु भएको छ । काठमाडौंमा आज आयोजित सात्क्षात्कारमा ज्ञवालीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेकोले कडा रुपमा प्रस्तुत हुन वाध्य भएको उहाँको भनाई छ । ‘सभामुख स्वयं एउटा दल विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेकपा एमाले विभाजनको मुख्य कारण बन्नुभयो,’ ज्ञवालीले भन्नुभयो, ‘सभामुखले गल्ती सच्याउनु पर्यो कि बाटो छाड्नुपर्यो ।’ ज्ञवालीले सभामुखको भुमिका राजनीतिक दलको नेताको जस्तो भएकोले नै आफूहरु कठोर बन्नुपरेको बताउनु भयो । ‘सभामुखले दोहोरो भुमिका खेल्न लाग्नु भो । जसपाले सरीता गिरिलाई कारवाही गरेको सुचना उहाँले २४ घन्टामा टास्नुभो ।

माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायतका नेता, सांसदहरुलाई गरेको कारवाही ४८ घण्टामा टास्नुभो तर नेकपा एमालेले गरेका कारवाही गरेको लिस्टलाई उहाँले सिरानीमुनि राख्नु भो,’ ज्ञवालीको भनाई थियो । उहाँले एमाले विभाजनको मुख्य कारण नै सभामुख अग्नि सापकोटा भएको आरोप लगाउँदै गल्ती सच्याउने या राजीनामा दिनेबाहेकमा सम्झौता नहुने प्रष्ट पार्नुभयो ।

संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले पनि चाहेको भन्दै उहाँले संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसलाई प्रतिपक्षका आवाजलाई सुन्दै नुसुनिकन मुलुकको शासन व्यवस्था नचल्ने पनि उहाँले प्रष्ट पार्नुभयो । ज्ञवालीले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले ६ महिनामा कुनै पनि राम्रो काम नगरेको बताउनु भयो । देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै उहाँले मुलुकको सबै क्षेत्रहरु अस्तब्यस्त जस्तै भएको बताउनु भयो ।

उहाँले सर्वोच्च अदालतको परमादेशले सरकार बनेको भन्दै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको बताउनु भयो । ‘असार २८ गतेको अदालतको परमादेशले बनेको सरकारको मुल्य अहिले सिंगो मुलुकले चुकाउन परेको अहिलेको अवस्था रहेको छ । सरकार कतिसम्म निकम्मा देखियो भने १ करोड भन्दा बढी खोप स्टोरमा छ, सरकार खोप लगाउन सक्दैन,’ ज्ञवालीले भन्नुभयो ।

लिपुलेक, लिपियाधुरा, कालापानी जस्ता नेपाली भूभागहरु वार्ता गरेर नेपालको भोगचलनमा ल्याउन पर्ने भन्दै उहाँले त्यहाँ भइरहेका गतिविधि रोक्न सरकारले सामान्य पत्राचारसमेत गर्न नसकेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन हुनुभन्दा अगाडी ‘कम्फर्टेवल सरकार’ बनाउने बताएको स्मरण गराउँदै ज्ञवालीले भन्नुभयो, ‘नेपाली लागि नभई बाहिरी मुलुकको लागि कन्र्फटेबल बनाउन खोज्नु भएको रहेछ भनेर अहिले प्रमाणित भयो ।’

जयसिंह धामी बेपत्ता हुँदा, नेपाली भुभागमाथि अवैध ड्रोन उडाउँदा, संरचनाहरु एकतर्फीरुपबाट निर्माण हुँदा बोल्न नसक्दा सरकार गैह्रजिम्मेवार ढंगले अगाडि बढिरहेको भन्दै त्यसप्रति आपत्ति जनाउनु भयो । सरकारले देशको सिमाको बारेमा बोल्न नसकेकोमा पनि उहाँले कडा आपत्ति जनाउनु भएको छ । सरकारले सीमाबारे दृढतापुर्वक भारतसँग कुरा गर्नपर्नेमा उहाँको जोड थियो ।