जनता टाइम्स

३ माघ २०७८, सोमबार १५:१७

२४ घण्टा नबित्दै मन्त्रीबाटै मन्त्रिपरिषदको निर्णय उलंघन


काठमाडौं, माघ ३ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी सरकारले सार्वजनिक गरेको स्वास्थ्य मापदण्डलाई स्वयं मन्त्रीले नै उलंघन गर्नुभएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारले तोकेको मापदण्ड उलंघन गर्दै झण्डै ५० जना उपस्थित गराएर आज पत्रकार सम्मेलन गर्नुभएको हो ।

सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो मन्त्रिपरिषदको निर्णय सावर्जनिक गर्दै भन्नुभएको थियो, ‘अब सार्वजिनक स्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर २५ जना मात्र उपस्थित हुन पाइन्छ।’ तर आज मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा जुलुस नै लागेको छ । सरकारले जारी गरेको यस्ता आदेश सहरी विकास मन्त्री झाँक्रीले २४ घण्टा नवित्दै उल्लंघन गर्नुभएको हो ।

बबरमहलमा आज उहाँले ठूलो संख्यामा पत्रकार उपस्थित गराएर आफ्ना १०० दिने उपलब्धी सुनाउनुभयो । तामझामका साथ आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारले भने जसरी स्वास्थ्यका कुनै मापदण्ड पालना गरिएको थिएन। साना हलभित्र झण्डै ५० जनाभन्दा बढी पत्रकार, मन्त्रालयका कर्मचारीको भिडभाड थियो । सो मन्त्रालयका सचिव मणीराम गेलाल कोरोना पोजेटिभ भएर स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री झाँक्रीलाई भौतिक रुपमा पत्रकार सम्मेलन नगर्न बरु भर्चुअल माध्यमबाट गर्न आग्रह गरिएको थियो। तर मन्त्रीले भर्चुअल विधिबाट गर्दा टेलिभिजनहरुमा आफ्नो कामको चर्चा नहुने भएकोले भौतिक उपस्थितिमै पत्रकार बोलाउन कर्मचारी र सचिवालयलाई निर्देशन दिनुभएको थियो।