मेलम्ची, माघ ५ । पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती–५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । मेलम्ची अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आन्द्रामा समस्या भएको आयो अनि चिकित्सकबाट छिटोभन्दा छिटो अप्रेसन गर्न सुझाइयो ।
तर, काठमाडौंको छाउनीमा गएर चेकअप गर्दा अप्रेसन गर्न नपर्ने र बिरामी त्यति धेरै जटिल नभएको रिपोर्ट आयो । लगत्तै लुइँटेलनलाई केही समयपछि निको पनि भयो । इन्द्रावती गाउँपालिकाका कुमार आचार्यलाई पनि २१ पुसमा पेट दुख्ने समस्या भयो । मेलम्ची अस्पताल जानुभयो । परीक्षण गर्दा किड्नीमा पानी जमेको भनियो । ५.५ एम एमको पत्थरी रहेको र तत्कालै अप्रेसन गरिहाल्न आचार्यलाई अस्पतालका चिकित्सकले सुझाव दिए । उक्त अस्पतालले दायाँपट्टी पत्थरी छ भनेको थियो । आचार्य आस्वस्त हुन नसकी बनेपाको केपी पोलिक्लिनकमा जानुभयो । त्यहाँ परीक्षण गराउँदा ठीक उल्टो बायाँ पट्टी पत्थरी रहेको छ भनियो ।
दुई वटा अस्पतालमा फरक–फरक रिपोर्ट दिएपछि उहाँ २९ मा धुलिखेल अस्पताल पुग्नुभयो । आचार्यको किड्नीमा पानी नजमेको र कुनै अप्रेसन गर्नु नपर्ने धुलिखेल अस्पतालले बतायो । पानी खाएरै केही दिनमा पत्थरी जाने र किड्नीलाई कुनै असर नभएको धुलिखेलका चिकित्सक निशा गुप्ताले बताउनु भयो ।
आचार्य र लुइँटेल त प्रतिनिधि पात्र मात्र हुन, उहाँहरू जस्तै दैनिक जसो कुनै न कुनै स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने गरेका धेरै बिरामी समस्यामा पर्ने गरेका छन । ‘हामीले त शंका लागेको कुरा गरेका हौं,’ अस्पतालका चिकित्सक मिलन खड्काले भन्नुभयो, ‘पानी जमेको शंका लागेर पानी फाल्न भनिएको हो ।’













प्रतिक्रिया दिनुहोस्