जनता टाइम्स

६ माघ २०७८, बिहीबार ०८:३१

तीन दिनसम्म हिमपात र बर्षाको उच्च संभावना, चिसो बढने भन्दै सावधानी अपनाउन सुझाव


काठमाडौं, माघ ६ । अबको तनि दिन देशभरी कै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति राति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अबको तनि दिन पानी, हिउँ पर्नेछ। यसले दिउँसो मौसम पूर्ण रुपमा नखुल्दा चिसो बढ्नेछ। मौसम नखुले पनि लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् पौडेलको भनाइ छ।

यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। तराईमा भने हुस्सु र कुहिरो लागेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली भएर पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको उहाँले जानकारी दिनुभयो। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली भएर प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।