जनता टाइम्स

६ माघ २०७८, बिहीबार ००:००

अमानवीयताको पराकाष्ट : कोरोना संक्रमितलाई मन्त्री र सचिवबाटै यातना, कार्यालयमा हाजिर हुन तारन्तार धम्की


गणेश बस्नेत/काठमाडौं । सर्वाेच्चको परमादेशबाट सत्तामा पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरु कतिसम्म अमानवीय र अराजक छन भन्ने तथ्य पछिल्लो एउटा घटनाक्रमले खोलेको छ । देउवा सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव र बन सचिव डा. प्रेम नारायण कँडेलले कोरोना संक्रमित भइ उपचार गराइरहेका पदाधिकारीलाई ज्यानलाई जस्तोसुकै जोखिम भएपनि कार्यालय उपस्थित भएर पत्र बुझन धम्की दिनुभएको छ ।

मन्त्री यादव र सचिव कँडेलसहित मन्त्रालयका उच्च कर्मचारीले यस्तो धम्की पाउनेमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल हुनुहुन्छ । पौडेल बुधवारदेखि कोरोना संक्रमित हुनुहुन्छ । गत सोमवारदेखि नै आइसोलेशनमा बस्नुभएका अध्यक्ष पौडेलको बुधवार पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उहाँ अहिले घरमै चिकित्सकको सल्लाहमा आइसोलेशनमा रहनुभएको छ । तर कोरोना संक्रमणको सूचना पाएदेखि नै बनमन्त्री यादव र सचिव कँडेलले लगातार फोन गरेर कार्यालयमा हाजिर भएर पत्र बुझन धम्की दिनुभएको हो ।

बन मन्त्रालयका एक कर्मचारीले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार मन्त्री यादव र सचिवले बुधवार र बिहीवार पौडेललाई कार्यालय आएर मन्त्रालयबाट पठाएको पत्र बुझन बारम्वार फोनमार्फत धम्की दिनुभएको छ । यसको अतिरिक्त कार्यबहाक सचिव रहनुभएका सहसचिव शिव वाग्लेले पनि पौडेललाई कार्यालयमा हाजिर भएर पत्र बुझन निर्देशन दिनुभएको पाइएको छ ।

‘कोरोना संक्रमन भएर के भो त ? अहिल्यै मरिन्न नि, तुरुन्त कार्यालय आएर पत्र बुझ्नोस, अरु मलाइ मतलव छैन,’ बनमन्त्री यादवले आज मात्रै फोनमा पौडेललाई दिनुभएको धम्की उधृत गर्दै मन्त्रालयका एक कर्मचारीले जनताटाइम्ससँग भने । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष पौडेलले आफूलाई मन्त्री, सचिव र अन्य पदाधिकारीबाट कोरोना संक्रमण भए पनि कार्यालयमा उपस्थित भएर पत्र बुझ्न फोन गरेको स्वीकार गर्नुभयो । तर थप केही बताउनु चाहनु भएन । ‘कोरोना लागे पनि बोलिरहनु भएको छ त, अफिस आएर पत्र बुझ्नोस’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको तर आफूले संक्रामक ऐनअनुसार कोरोना संक्रमित भएकोले नेगेटिभ नआउँदासम्म कसैको सम्पर्कमा जान नमिल्ने जवाफ दिएको पौडेलले जनताटाइम्सलाई बताउनु भयो ।

पौडेललाई कोरोना संक्रमण भएको पिसिआर रिपोर्ट

कोरोना संक्रमित पौडेललाई तत्कालै कार्यालयमा उपस्थित हुन धम्की दिने सचिव कँडेल आफै आमाको मृत्यु भई गुल्मीमा काजकिरियामा हुनुहुन्छ । तर किरियापुत्री रहेकै अवस्थामा समेत कँडेल तारन्तार फोन गरी कोरोना भएपनि कार्यालय आएर पत्र बुझन धम्की दिइरहनु भएको हो । जनताटाइम्सले सचिव कँडेलको टेलिफोन नम्बर ९८६०१३९१९४ मा सम्पर्क गर्दा ‘प्लिज टेक्स मी’ भन्दै जवाफ फर्काउनु भयो । बिषयसहित परिचय दिएपछि उहाँले आमाको मृत्यूको कारण गुल्मीस्थित निवासमा किरियामा रहेको जानकारी दिनुभयो । त्यसपछि हामीले बिषयबारे प्रश्न गर्यौं, ‘सर्वप्रथम हजुरलाई हार्दिक समवेदना । तर किरियामा बसेको सचिवज्यूले कोरोना लागेको पदाधिकारीलाई तु अफिस आएर पत्र बुझ भन्न मिल्छ सर ? उहाँले कुनै जवाफ दिनुभएन ।

उहाँले निमित्त सचिव शिव वाग्लेसँग सम्पर्क गर्न भन्नुभयो। जनताटाइम्सले निमित्त सचिव वाग्लेसँग सम्पर्क गर्दा कोरोना संक्रमित कार्यालय आउन नमिल्ने र त्यस्तो काम कसैबाट हुन नहुने तथा मन्त्रालयबाट पनि नभएको बताउनु भयो । ‘कोरोना संक्रमण हुनुभन्दा पहिला भनिएको होला, कोरोना संक्रमण भएपछि त त्यस्तो अमानवीय कुरा भन्नै मिल्दैन,’ निमित्त सचिव वाग्लले जनताटाइम्ससँग भन्नुभयो, ‘राष्ट्रपति चुरेका अध्यक्षलाई हिजो फोन गएको होला, आज त छैन ।’

तर निमित्त सचिव वाग्लेले बुधवार कोभिड संक्रमण भएको जानकारी पाएको एक घण्टापछि मन्त्रालयमा फाइल उठाएर गोरखापत्रमा सार्वजनिक सूचना पठाउनु भएको मन्त्रालयकै एक अधिकारीले बताए । मन्त्रीलाई हस्ताक्षर गराएर वाग्लेले सूचना पठाउनु भएको मन्त्री यादकै निजी सचिवालयको एक सहयोगीले बताए । निमित्त सचिवले हो सवै गरेको मन्त्रीलाई उकास्ने पनि उहाँनै, बेकारमा मन्त्री बदनाम भए,’ ती सहयोगीले भने ।

मुख्यसचिव शंकरदाश बैरागीसँग सम्पर्क गर्दा पनि सम्पर्कमै आउन चाहनु भएन । उहाँको मोवाइल नम्बर ९८५११८८१८४ मा पटक–पटक सम्पर्क गर्दा कुनै रेस्पोन्स गर्नुभएन । यस्तै मन्त्री यादवसँग सम्पर्क गर्दा पनि ठोश जवाफ दिनुभएन । मन्त्रीज्यू सरकारको स्वास्थ्य मापदण्डअनुसार कोरोना संक्रमित ब्यक्ति कार्यालयमा हाजिर भएर पत्र बुझ्न मिल्छ कि मिल्दैन ? भन्ने जनताटाइम्सको प्रश्नमा उहाँले भन्नुभयो, ‘यो त मलाई थाह भएन, स्वास्थ्य मन्त्रालयसँग सोध्नोस । जनताटाइम्स डटकमले पुनः मन्त्रीज्यूले नै कोरोना संक्रमितलाई अफिसमा हाजिर भएर पत्र बुझनु भन्दै फोनमा भन्नुभएको रहेछ नि भनेपछि उहाँले भन्नुभयो, होइन होइन, त्यस्को पोल कस्ले लगायो ? मैले त्यस्तो भनेको छैन ।’ मन्त्री यादवले अध्यक्ष पौडेलसँग फोनमा कुराकानी भएको चाँहि स्वीकार गर्नुभयो ।

परमादेशबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका यादवले समितिका पदाधिकारीलाई राजीनामा दिएर वाटो खुल्ला गर्न आग्रह गर्नुभन्दा सुरुमै बिना जानकारी स्पष्टिकरण सोध्नुभएको थियो । अध्यक्ष पौडेलले आफू अघिल्लो सरकारले नियुक्त गरेको र काम गर्न असहज भए भन्न आग्रह गर्दा ठीक छ, काम गर्नाेस भन्दै पठाउनु भएका मन्त्री साहले एकाएक स्पष्टिकरण सोधेपछि अध्यक्ष पौडेललगायत सो संस्थाका सवै पदाधिकारीले प्रतिवाद गर्नुभएको थियो । माघ ४ गते मन्त्रिपरिषदको निर्णय भन्दै स्पष्टीकरण सोध्नुभएका अध्यक्ष तथा सदस्यसहितका पदाधिकारीलाई मन्त्री यादवले त्यसको दुई दिन नबित्दै सार्वजनिक सूचनामार्फत सफाई पेस गर्न निर्देशन दिनुभएको छ ।

कोरोनाका कारण पत्र बुझन नसकेको अवस्थामा वन मन्त्रालयले अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली सिवाकोटी, शशिकुमार शर्मा, सुस्मिता ढकाल, भेषराज आचार्यलगायतलाई ५ दिनभित्र सफाई पेश गर्न निर्देशन दिएको छ । सफाईका लागि मन्त्रलायले सार्वजनिक सुचनामार्फत दिएको निर्देशनमा भनिएको छ, ‘४ माघको पत्रहरु तपाईहरुवाट नबुझिएको हुदाँ तपाईहरुको नियुक्ती पश्चात त्यस समितिको गठन आदेश लगायत प्रचलित कानुनले तोकिएको जिम्मेवारी तथा कार्य विवरणका कार्यहरु के कति र कसरी सम्पादन गर्ने गराउने गर्नु भएको छ ? पत्र प्राप्त भएको पाँच दिन भित्रमा यसमा मन्त्रालयमा पेस गर्न अनुरोध छ ।’

अध्यक्ष पौडेल संक्रमित भएको कारण जवाफ आउन नसक्ने ठहर गरी मन्त्री यादव ले यस्तो अमानवीय हर्कत गर्नुभएको हो । मन्त्रालयले पुस ३० गतेको मन्त्रीपरिषदको निर्णय अनुसार सो स्पष्टीकरण सोधिएको जनाएको छ । तर मन्त्री यादवले मंगलवार मुख्यसचिव शंकरदास बैरागीलाई मिलाएर पुरानो मितिमा यो निर्णय गराउनु भएको पाइएको छ ।