जनता टाइम्स

७ माघ २०७८, शुक्रबार ०९:१२

विदेशमा रहेका नेपालीको मताधिकार ग्यारेण्टीका लागि सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपाली मञ्च


अमेरिका, माघ ७ । विदेशमा बस्ने नेपालीलाई यथास्थानमा मतदानको व्यवस्था गर्न माग गर्दै नेकपा एमालेको विदेश स्थित भातृ संगठन प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीले नेपाल सरकार र विभिन्न मुलुकमा रहेका नेपाली दुतावासमा ज्ञापन पत्र बुझाउने भएको छ ।

सर्वोच्च अदालतले २०७४ चैतमा विदेशमा रहेका नेपाली नागरिकलाई सोही स्थानबाट मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको थियो । सर्वोच्च अदालतको सो फैसला अझै कार्यन्वयनमा आएको छैन ।

अन्तर्राष्ट्रीय कमिटीका प्रचार विभाग प्रमुख तथा अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार नेपालमा परराष्ट्रमन्त्री र निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाइने छ । यस्तै विश्वभरी रहेका नेपाली दुतावासमा पनि सोही देशका कमिटीले ज्ञापन पत्र बुझाउने छन् । थापाका अनुसार जनवरी २४ तारिक सोमवार एक बजे ज्ञापन पत्र बुझाइने छ । अन्य मुलुकमा भने अनुकुल समयमा ज्ञापन पत्र बुझाइने छ ।

‘नेपाली नागरिकको नैसर्गिक अधिकार हो मतदान, सर्वोच्चले पनि जो जहाँ छन् त्यहीबाट मतदानको व्यवस्था गराउनु भनेको छ त्यो कार्यन्वयन हुनु पर्छ भन्ने हाम्रो माग हो त्यसैका लागि दवाव दिन हामीले ज्ञापन पत्र बुझाउन लागेका हौ,’ थापाले भन्नुभयो । आधिकारिक तथ्याङ्क नभए पनि मुलुकको कुल जनसंख्याको लगभग एक तिहाइ नेपाली नेपाल भन्दा बाहिर रहेका छन् भनिदै आएको छ ।