जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १४:१८

आपराधिक धन्दामा नेकपा एसका नेता, प्रहरीले रंगेहात समातेपछि खुल्यो लामो अपराधकर्मको पोल


काठमाडौं, माघ ७ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक– काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठ पक्राउ परेका छन । लामो समयदेखि नक्कली मह बनाउने काममा लागेको तथ्य प्रमाणित भएपछि महानगरीय अपराध महाशाखाले नेकपा एसका नेता श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उपभोक्तालाई गुणस्तरहीन नक्कली मह बेच्दै गरेका श्रेष्ठलाई महानगरीय प्रहरी काठमाडौंले नक्कली मह र त्यो बनाउने कच्चा पदार्थ सहित पक्राउ गरेको छ । प्रहरीले माधव नेपालको आडमा नक्कली मह बनाउने श्रेष्ठलाई पक्राउ गर्न बिशेष टीम नै बनाएर अपरेशन हनीको संज्ञा दिएको थियो । काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचना आएपछि अपराध महाशाखाले माघ ६ गते बिहीवार कामनपा–२७ ज्याठास्थित श्रेष्ठको नतिजा प्याकेजिङमा छापा मारेको थियो ।

सो क्रममा प्रहरीले प्रमाणसहित सञ्चालक नेकपा एकका नेता नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मिसावट गरी गुणस्तरहीन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन ७६०० केजी तयारी तथा कच्चा मह समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान पश्चात श्रेष्ठले लामो समयदेखि अबैध धन्दा चलाएको निश्कर्षसहित थप अनुसन्धान कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले बिगत ७ बर्षदेखि श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री बितरण गर्दै आएका थिए । यस्तै नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको, गुणस्तरहिन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको पनि अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाई प्रतिकेजी ६ सय ५० रुपैयाँमा बिक्री बितरण गर्दै आएको तथ्य पनि खुलेको छ । यस्तै निजले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको छ । गुणस्तरहिन मह बनाउनको लागि श्रेठष्ठले ३० प्रशित ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी मह बनाउने गरेको तथ्यसमेत अनुसन्धानको क्रममा पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा एचएमएक र एप/जी रेसियोको मात्र नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खानयोग्य नरहेको प्रमाणित भएको छ । प्रहरीले श्रेष्ठलाई पक्राउसँगै ६ सय किलो गुणस्तरहीन तयारी मह, कच्चा तथा गुणस्तरहीन मह ६५ सय किलो बरामद गरेको छ । यस्तै ५ सय किलो ग्लुकोज, एक सय किलो चिनी, बेट मेसिन एक थान, लेभल मेसिन एक थान, सिल मेसिन एक थान, पेट्राइज मेसिन एक थान, स्टोरेज मेसिन एक थान, स्पर्स हनीका लेभलहरु ( स्टिकर) र पेट जार अ १ हजार पिस बरामद गरेको छ ।