जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १५:३२

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको ठहर


काठमाडौं, माघ ७ । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको बताउनु भएको छ । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने सार्वजनिक धम्की दिँदासमेत प्रधानमन्त्री देउवाले केही गर्न नसकेको भन्दै पोखरेलले कडा आपत्तिसमेत जनाउनु भएको छ ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गर्नुभएको छ । उहाँले गठबन्धनको सूत्राधार हुँ (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड) तर्फ लक्षित गर्दै केही बोल्न नसकेको बताउनु भएको छ ।

‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन–बोल्दैनन, गर्छन गर्दैनन ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन ?’ बरिष्ठ उपाध्यक्ष पोखरेलले प्रश्न गर्नुभएको छ ।

२०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जनाको ज्यान गएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहोर्याउने र त्यसमा राउत मारिने धम्की दिनुभएको थियो ।