जनता टाइम्स

८ माघ २०७८, शनिबार ११:०४

भौतिक पूर्वाधारमन्त्री रेणु यादवले माफी नमागे बर्खास्त गर्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा


काठमाडौं, माघ ८ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले पछिल्लो समय दिएको हिंसात्मक अभिव्यक्तिप्रति माफी नमागे बर्खास्त गर्नुपर्ने बताउनु भएको छ । उहाँले मन्त्री यादवको आपत्तिजनक हर्कतको सम्बन्धमा तीनवटा विकल्प पनि दिनुभएको छ । महामन्त्री शर्माले दिएका तीन विकल्पमा क्षमायाचनादेखि पदमुक्त गर्नुपर्नेसम्मका छन् ।

शर्माले दिनुभएको पहिलो विकल्पमा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिने यादवले भुल सुधार र क्षमायाचना गर्नुपर्नेछ । त्यस्तै दोस्रो विकल्पमा उनले सम्बन्धित दलले पहलकदमी लिएर पदबाट राजीनामा गराउनुपर्ने छ । त्यस्तै तेस्रो विकल्पमा उनले भनेका छन्, पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त ।

राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनै पर्दछ भन्दै हिंसा भड्काउने अभिव्यक्ति स्वीकार्य नहुने पनि शर्माको भनाई छ । ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न’, शर्माले भन्नुभएको छ । मन्त्री यादवले केही दिनअघि मधेसको एक कार्यक्रममा फेरि गौर हत्याकाण्ड जस्तै अर्को नरसंहार गराउने धम्की दिनुभएको थियो ।