जनता टाइम्स

१० माघ २०७८, सोमबार ०८:०५

पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा, काठमाडौँमा पनि पानी पर्ने सम्भावना



काठमाडौँ, १० माघ । अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ । पश्चिमी क्षेत्रको मौसम पूर्णरुपमा बद्ली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको हो ।

यस्तै यी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको र अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँकाअनुसार आज काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ ।

केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

भोलि भने आजको भन्दा मौसममा केही सुधार आउने मौसमविद्को अनुमान छ । तर, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने मौसमविद्हरुले बताएका छन् ।