काठमाडौं, असोज २३ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा अच्युतमणि न्यौपानेलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ ।
त्यस्तै, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ ।













प्रतिक्रिया दिनुहोस्