जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १५:१६

बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तहलाई गरियाे विपद् संकटग्रस्त क्षेत्र घोषणा


काठमाडौं, असोज २३ । सरकारले असोज ८ देखि ११ गतेसम्म आएको बाढीपहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न स्थानीय तह तथा वडालाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रभावित स्थानीय तह तथा वडालाई संकटग्रस्त क्षेत्रको सूचीमा राखेको हो।

सरकारको यस निर्णयले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सहज हुने बताइएकाे छ । 

कुन जिल्लाका कुन क्षेत्र संकटग्रस्त घोषित भए ?

सरकारले सार्वजनिक गरेको विवरणअनुसार गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

मनाङमा चामे गाउँपालिका, नासो गाउँपालिका तथा मनाङ ङिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ संकटग्रस्त क्षेत्रको सूचीमा परेका छन्।

त्यसैगरी म्याग्दीका अन्नपूर्ण, रघुगंगा, मंगला, धवलागिरि र मालिका गाउँपालिकासहित बेनी नगरपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा ताराखोला गाउँपालिका पनि संकटग्रस्त क्षेत्रको सूचीमा समेटिएका छन्।

पर्वतमा जलजला गाउँपालिका, फलेवास नगरपालिकाका वडा नम्बर २, ३, ७, ८, १० र ११, बिहादी गाउँपालिकाको वडा नम्बर ६, महाशिला गाउँपालिकाका वडा नम्बर ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नम्बर २ र ३ लाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाको वडा नम्बर ५ पनि उक्त सूचीमा परेको छ।

सरकारले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्न, क्षतिको प्रभावकारी व्यवस्थापन गर्न र पुनःस्थापनाका काम अघि बढाउन उक्त निर्णय गरेको जनाएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा तीन महिनासम्म लागू हुनेछ।