जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १०:२१

कांग्रेसमा कुनै प्यानल वा गुट छैन, मेरो नाम जोडिएका सूची आधिकारिक होइनन् : गगन थापा 


काठमाडौं, असाेज २३ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको निर्वाचनमा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोप्रति ध्यानाकर्षण गराउँदै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गर्नुभएको छ।

सभापति थापाले महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको सन्दर्भमा प्रतिनिधिहरूलाई सामाजिक सञ्जाल मार्फत सम्बोधन गर्दै पार्टीभित्रको निर्वाचन स्वस्थ आन्तरिक लोकतान्त्रिक अभ्यास भएको बताउनुभएको हो।

उहाँले हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुगेको उल्लेख गर्दै त्यसबाट महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्नुभएको छ। ‘यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दछु,’ थापाले भन्नुभएको छ। 

सभापति थापाले विभिन्न उम्मेदवारका सूचीमा आफ्नो नाम जोडेर प्रचारप्रसार भइरहेको विषयमा स्पष्ट हुन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। उहाँले पार्टीको आन्तरिक निर्वाचनमा कुनै पनि प्यानल वा गुट नरहेको उल्लेख गर्दै आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नलिन आग्रह गर्नुभएको हो। ‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले स्पष्ट पार्नुभएको छ, ‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला। ’सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम, अफवाह वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर मतदान गर्न आग्रह गर्नुभएको छ।

उहाँले उम्मेदवारहरूको मूल्याङ्कन गरी आफ्नो स्वतन्त्र विवेक, विश्वास र मान्यताका आधारमा नेतृत्व चयन गर्न प्रतिनिधिहरूलाई आह्वान गर्नुभएको हो।  प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले नेपाली कांग्रेसको संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै थापाले निर्वाचनलाई मर्यादित र लोकतान्त्रिक अभ्यासका रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको निर्वाचनले पार्टीको आगामी केन्द्रीय नेतृत्व चयन गर्नेछ। यस क्रममा उम्मेदवारहरूको पक्षमा विभिन्न सूची र प्रचार सामग्री सार्वजनिक भइरहेका बेला सभापति थापाको यो स्पष्टोक्तिलाई महत्त्वपूर्ण मानिएको छ।