जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १०:११

चाेलेन्द्रसमशेर पक्राउकाे सूचना चुहावटको आरोप लागेका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्ने सिफारिस


काठमाडौं, असाेज २३ । सूचना चुहावटको आरोपमा निलम्बनमा पर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। उहाँलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस भएको स्रोतले जनाएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा भएको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो। सिफारिसअनुसार आवश्यक कागजात तयार पार्ने काम गृह मन्त्रालयमा भइरहेको स्रोतको भनाइ छ। दाहाललाई सेवाबाट बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था रहेको बताइएको छ।

दाहाल गत असोज १९ गते निलम्बनमा पर्नुभएको थियो। उहाँमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधि र समयतालिकासम्बन्धी सूचना निगरानी तथा चुहावट गरेको आरोप लागेको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ नाता पर्नुहुने दाहाल, राणा असोज ११ गते बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि उहाँलाई हिरासतमा भेट्न पुग्नुभएको थियो। सशस्त्र प्रहरी स्रोतका अनुसार राणाको मोबाइल फोनको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचनाहरू फेला परेपछि उहाँमाथि अनुसन्धान अघि बढाइएको हो।

विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहनुभएका व्यवसायी दीपक भट्टलाई छुटाउन पूर्वप्रधानन्यायाधीश राणाले चलखेल गरेको र त्यसमा दाहालको समेत भूमिका रहेको स्रोतको दाबी छ। यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट सार्वजनिक रूपमा पुष्टि भएको विस्तृत विवरण उपलब्ध छैन।

त्यस्तै, गत वर्षको जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको विघटन संविधानविपरीत भएको दाबीसहित सर्वोच्च अदालतमा दायर रिटसम्बन्धी गतिविधिमा पनि राणा सक्रिय रहेको र त्यसमा दाहालले सहयोगी भूमिका निर्वाह गरेको सशस्त्र प्रहरी स्रोतको दाबी छ। उक्त रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको जनाइएको छ।