काठमाडौं, असोज २३ । नेकपा (एमाले) को सचिवालय बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ। पार्टीका सांगठनिक गतिविधि र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो।
यसअघि हिजो पनि बैठक बसेको थियो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको स्थायी कमिटी बैठकले स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति निर्धारण गर्नुका साथै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको थियो।
स्थायी कमिटी बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको थियो।
त्यस्तै, आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको थियो। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरू सहभागी हुने जनाइएको छ। पालिका र वडा अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने निर्णयसमेत बैठकले गरेको थियो।
स्थायी कमिटी बैठकको आरम्भमा पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो।
बैठकले मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्नुहुने जैनब खातुनको निधनपछि रिक्त स्थानमा समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको थियो। पार्टीको निर्णयअनुसार नाजमा खातुन बन्दसूचीको क्रम सङ्ख्या ४० तथा मापदण्डअनुसार क्रम सङ्ख्या ४२ मा रहनुभएको उल्लेख गरिएको छ।
यसैगरी, अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय पनि बैठकले गरेको थियो।
आज जारी सचिवालय बैठकमा हिजो टुङ्गिन बाँकी विषयमा छलफल हुने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्