जनता टाइम्स

१० माघ २०७८, सोमबार १२:०५

अमेरिकामा विवाहका लागि जोडी खोज्न सहयोग गर्दै नेपाली मन्दिर


ड्यालस (अमेरिका), माघ १० । के तपाई नेपालमा हुनुहुन्छ तर अमेरिकामा रहेका नेपाली समुदायसँग विवाह गर्ने सोचमा हुनुहुन्छ ?
तपाई अमेरिकामा हुनुहुन्छ । नेपालमा गएर विहे गर्ने योजना बुन्दै हुनुहुन्छ ? यदी यसो हो भने तपाईका लागि योग्यजोडी खोज्नका लागि अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा रहेको नेपाली मन्दिरले सहयोग गर्न सक्नेछ ।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, जसलाई नेपाली मन्दिर अथवा पशुपतिनाथ तथा बुद्ध मन्दिरका नामले चिनिन्छ यही संस्थाले नेपाली संस्कृतिमै विवाह गर्न चाहनेका लागि सहयोग गर्ने विशेष कार्यक्रम सुरु गरेको छ । ‘बरबधु मिलन कार्यक्रम’ नाम दिइएको यो कार्यक्रम सुरु भएको एक हप्ता भयो । यसबीचमा संस्थामा विवाह गर्नका लागि दर्जनौ नामहरु प्राप्त भैसकेको कार्यक्रम संयोजक डा. मुरली अधिकारीले जानकारी दिनुभयो ।

योग्य जीवनसाथीको खोजीमा पसेका । तर पाउन नसकेका दर्जनौ व्यक्तिहरु आप्mनै अमेरिकामै भेटिन्छन् । स्पष्टसँग कुरा राख्न पनि नसक्ने र यिनका त ब्वाईफ्रेण्ड या गर्लफ्रेण्ड होलान् भन्ने अनुमानका भरमा कुरा अघि बढाउन आँट नगर्दा ३० वर्ष नाघिसकेका पनि थुपै भेटिन्छन् ।
यही समस्यालाई हल गर्ने उद्वेश्यले ड्यालसको मन्दिरले बरबधु मिलन कार्यक्रम थालनी गरेको हो । नेपाली मन्दिरले एक वर्षसम्मको गृहकार्य एवं कानुनी तथा व्यबहारिक पक्षको अनुसन्धान पछि यो कार्यक्रम सुरुवात गरेको छ ।

‘आफ्नै नेपाली संस्कार र संस्कृति भित्रै बर तथा बधु चाहनेहरुका लागि सजिलो र विश्वासयोग्य प्लाटफर्म हुनुपर्छ भन्ने उद्वेश्यले यो कार्यक्रम सुरु गरिएको हो’ डा।अधिकारीले प्रष्टाए । अमेरिकामा सामाजीक सञ्जालका माध्यमबाट वा भारतीयले जोडी मिलाउने वेवसाइटहरु चलाएका छन् । तर नेपाली समुदाय र अझै विशेषगरि अमेरिकामा नेपालीले स्थापना गरेको मन्दिरबाट यस्तो वैवाहिक कार्यक्रम पहिलोपटक सुरु भएको हो ।
‘यो कार्यक्रमबाट बरले उपयुक्त बधु र बधुले आफूले खोजेको जस्तो वर पाउन सक्ने अवस्था सिर्जना हुनेछ’ कार्यक्रमकी वेवसाइट निर्देशक डा. विष्णुमायाँ उपाध्यायले भनिन् । झट्ट हेर्दा कार्यक्रमको प्रारुप म्यारिज व्यूरोको जस्तो देखिन्छ । तर सामाजीक तथा धार्मिक संस्थाले कुनै व्यबसायीक प्रयोजनका लागि नभै समुदायकै लागि यो कार्यक्रम सुरु गरेको हो ।

अमेरिकामा सम्पर्क तथा पहुँचको अभावले अध्ययन सकेर, राम्रो काम गरेर विवाहयोग्य उमेर पुगेका थुप्रै नेपालीहरु छन् । तिनलाई एउटै वेवसाइट मार्फत सम्पर्कमा जोड्ने पुलको काम मन्दिरले गर्न लागेको हो । यो कार्यक्रममा सहभागी हुनका लागि १८ वर्ष उमेर पुगेकाहरुले वेवसाइटमा गएर आफ्नो विवरण भर्नुपर्छ । अभिभावकले समेत आफ्ना विवाहयोग्य छोराछोरीका लागि फर्म भर्न सक्नेछन् । ‘वेवसाइटमा भरिएका सबै विवरणहरु गोप्य हुनेछन् । उहाँहरुको विवरणहरु मध्यबाट जात, उमेर, उचाई, शैक्षिक योग्यता लगायतका विवरणमात्र वेवसाइटमा सार्वजनिक हुनेछन्’ बरबधु कार्यक्रमको लागि सहजीकरण गर्नुहुने मन्दिरका पूजारी मेघराज निरौलाले भन्नुभयो ।

आवेदन दिनका लागि https://www.ourncsc.org/bar-badhu-milan-nepali-matrimony/application-formमा गएर सबै विवरण भर्नुपर्छ । मजाकको विषय नहोस् र सिरियस व्यक्तिहरुले मात्र आवेदन दिउन् भनेर ९९ डलर शुल्क राखिएको छ । निशुल्क गर्दा हेरौं न त भनेका भरमा जथाभावी दर्ता हुने संभावना देखिएपछि शुल्क राखिएको हो । केही समयका लागि शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । यो प्रवद्र्धनात्मक अवधिका लागि छुट गरिएको हो । बरबधुको लागि भनेर भरिएका व्यक्तिगत डाटाको सुरक्षा लगायतका कानुनी प्रकृयाका बारेमा मन्दिरले निकै लामो अध्ययन गरेको छ । यही क्षेत्रमा लागेका अमेरिकी कानुनका ज्ञाताहरु समेतको परामर्शमा वेवसाइटको डिजाइन गरिएको छ । यो कार्यका लागि मन्दिरले झण्डै एक वर्ष समय खर्चिएको संयोजक डा अधिकारीले उल्लेख गर्नुभयो ।

‘पछिल्लो समयमा हाम्रो समुदायका लागि कुन कुरा बढी आवश्यक छ भनेर हेर्दा विवाहयोग्य उमेर पुगेका थुप्रै व्यक्तिहरु देखिएको र जोडा मिलाउन सक्ने निकाय नभएपछि यो कार्यक्रम सुरु भएको हो’ नेपाली मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेलले थप्नुभयो । बरबधु कार्यक्रममा सहभागी हुनका लागि अमेरिकामै नभएपनि हुन्छ । नेपालमा रहेका र विवाहयोग्य उमेर पुगेकाले आपूmले चाहे अनुसारको बरबधु उल्लेख गरेर पनि फर्म भर्न सक्नेछन् । फर्म भर्दा कुन देशमा रहेकासँग विवाह गर्न चाहेको समेत उल्लेख गर्न सकिन्छ ।

अमेरिकामा रहेकाले नेपाल वा अन्य देशमा र नेपालमा रहेकाले पनि अमेरिका लगायत अन्य देशमा रहेका नेपालीसँग विवाह गर्नका लागि आफ्नो विवरण भरेर वेवसाइटमा राख्न सक्छन् । वेवसाइटमा रहने हरेक व्यक्तिका लागि छुट्टाछुट्टै आइडी नम्बर हुन्छ । त्यही आइडी नम्बरका उल्लेख गरेर मन्दिरका पुजारी तथा सहजकर्ता मेघराज निरौलासँग सम्पर्क गर्नसकिन्छ ।

सहजकर्ताले दुबै पक्षको फोन नम्बर आदान प्रदान गरेर भेट गराउने व्यबस्था गर्नेछन् । दुबै पक्षबीच भेटघाट पछि चित्त बुझेमा विवाह गर्ने या नगर्ने सबै निर्णय संबन्धित व्यक्तिकै हुनेछ । ‘भेट गराइदिनेसम्मको दायित्व मन्दिरको हो, त्यसपछि उहाँहरुबीचनै सहमतिमा बिहेको कुरा अघि बढाउने या रोकिने निधो हुन्छ’ डा अधिकारीले भन्नुभयो । अविवाहित मात्र नभएर कानुनी रुपमा डिभोर्स भैसकेका, पति या पत्नीको निधन भएका व्यक्तिले पनि फर्म भरेर बुझाउन सक्नेछन् । सामाजीक सेवाका रुपमा मन्दिरले थालनी गरेको यो कार्यक्रमबाट नेपाल बाहिर प्रवासमा रहेका धेरै व्यक्तिहरु लाभान्वित हुनसक्नेछन् ।

अमेरिकामा रहेका र नेपालमै विहे गर्न चाहने, नेपालमा रहेका र अमेरिकामा रहेका नेपालीसँग विहे गर्न चाहनेलाई यो कार्यक्रमबाट निकै सहजता हुने प्रतिकृया समुदायका अगुवाहरुले व्यक्त गरेका छन् । यो कार्यक्रमप्रति अमेरिकाका बिभिन्न राज्य तथा सिटीहरुमा रहेका नेपाली सामुदायिक संस्थाहरुले चासो देखाएका छन् । अमेरिकामा दोस्रो पुस्ताका नेपालीहरुको संख्या बढ्दै गएको, उनीहरु विवाहयोग्य उमेरका भैसकेका र विद्यार्थीहरुले समेत यतै विहे गरेर बस्नेतर्फ चाहना देखिएपछि यस प्रकारको कार्यक्रमको आवश्यकता रहेको देखेपछि मन्दिरले अघि सारेको हो ।