जनता टाइम्स

१० माघ २०७८, सोमबार १८:०३

नेपाल प्रहरीमा एआइजीको दरवन्दी १० पुर्याउँदै सरकार, यी हुन बढुवा निश्चित भएका पाँच डिआइजी


काठमाडौं, माघ १० । सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पाँचवटा दरबन्दी थप्ने तयारी गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । सत्ता गठबन्धनका नेताहरुको भागबण्डा मिलाउन सरकारले एआइजीको थप ५ ओटा दरवन्दी सिर्जना गर्न लागेको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले एआईजीका तीन दरबन्दी थपका लागि गृह मन्त्रालयमा प्रस्ताव लगेको थियो ।

सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले तीनवटा दरबन्दी थप्न गतपुस २९ गते गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । गृहको प्रस्तावअनुसार अर्थमन्त्री जनार्दन शर्माले ३ एआइजीको दरबन्दी स्वीकृतिका लागि सहमति दिइसक्नु भएको छ । तर आकांक्षीहरुले शक्तिकेन्द्रमा थप दबाब बढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले थप दुईवटा दरबन्दी थपेर प्रस्ताव तयार गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाको यो निर्देशनसँगै अब नेपाल प्रहरीमा एआइजीको संख्या १० पुग्ने भएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रस्ताव तयार पारिसकेको छ । यही माघ १२ गते अर्थात पर्सि राष्ट्रियसभाको निर्वाचन भएकोले सो निर्वाचनपछि एआईजीमा बढुवा गर्ने तयारी भइरहेको छ । गृह स्रोतका अनुसार प्रहरी नायव महानिरीक्षक (डीआइजी) त्रय धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्रबहादुर धानुकलाई बढुवा गर्नका लागि ३ पद थप गरिएको थियो । तर डीआइजीहरु इश्वरबाबु कार्की, बसन्त पन्त र गणेश ऐरले दबाब बढाएपछि दरबन्दी थपिन लागेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रमुख डीआइजी सिंह, महानगरीय आयुक्त कार्यालयका सुवेदी र प्रहरी प्रधान कार्यालयका धानुकले एआइजीजीमा बढुवा निश्चित जस्तै छ । डिआइजीत्रयकै लागि तीन दरवन्दी थप गरिएकोले तीनै जना बढुवा हुने सूचमा हुनुहुन्छ । आफू बढुवाका लागि तीन डीआइजीले दरबन्दी थप गराएपछि डिआइजी ऐर इश्वरबाबु कार्की, र पन्तले पनि २ दरबन्दी थप गर्न लगाउनु भएको हो । एआइजीको पाँच दरवन्दी भए पनि तीनमध्ये एक जना छुटने निश्चित छ ।

प्रधानमन्त्री देउवाले २०७३ मा एआइजीका दरबन्दी ३ वटा बाट थपेर १५ बनाउनु भएको थियो । २०७४ मा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि एआइजीका दरबन्दी घटाएर ३ वटा बनाइएको थियो । त्यसपछि बीचमा २ वटा थप गरी एआइजीका दरबन्दी ५ बनाइएको थियो । तर देउवाले पुन संख्या बढाएर किर्तीमान राख्न लाग्नुभएको हो । डिआइजीको बढुवालगत्तै रिक्त पदमा एसएसपीबाट बढुवाको गृहकार्यसमेत अघि बढेको प्रहरी प्रधान कार्यालयस्रोतले जनाएको छ ।