जनता टाइम्स

१० माघ २०७८, सोमबार १९:०३

तथ्यको कसीमा राष्ट्रिय युवा संघ, महेश अध्यक्ष जित्दा यी चार मात्रै भएका थिए केन्द्रीय कमिटीमा निर्वाचित


काठमाडौं, माघ १० । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनको बिषयलाई लिएर केही नेताहरु असन्तुष्ट देखिएका छन । एमाले पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेतबिरुद्ध घेरावन्दी गर्दै पार्टीका कतिपय युवा नेताहरु युवा संघमा बिवाद गराउन उद्धत रहेको तथ्य पनि बिस्तारै उजागर हुन थालेको छ ।

बिधि र पद्धतीअनुसार कमिटी नभएको कतिपय असन्तुष्ट नेताको भनाई छ । तर अहिले बिवाद गर्ने सवैजसो नेताहरु युवा संघको महाधिवेशनबाट नभई फाइल बढुवाका आधारमा पदमा पुगेको तथ्य भने बिर्सिएका छन । युवा संघको ९ बर्षदेखि महाधिवेशन भएको छैन । पछिल्लो पटक २०६९ फागुनमा बुटवलमा आठौं राष्ट्रिय महाधिवेशन भएको थियो । सो महाधिवेशनबाट हालका इञ्चार्ज महेश बस्नेत नै दोहोरिएर अध्यक्ष बन्नुभएको थियो । उहाँले छाडेपछि युवा संघका निरु पाल, राजिव पहारी, रमेश पौडेल, बच्चन सिंह हुँदै किरण पौडेल अध्यक्ष बन्नुभएको छ ।

अध्यक्षको जिम्मेवारी पूरा गरेर बिदा भएका सवै नेताहरु महेश बस्नेत पहिलो पटक अध्यक्ष चयन हुँदा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । लाहानमा २०६६ पुस ११–१४ मा सम्पन्न सातौं महाधिवेशनबाट बस्नेत पहिलो पटक अध्यक्ष निर्वाचित हुनुभयो । सोही महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित चार जना नेतामध्ये किरण पौडेल अध्यक्ष हुँदै महाधिवेशन आयोजक कमिटीको संयोजक बन्नुभएको छ । लाहान महाधिवेशनबाट पौडेल केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।

यस्तै नवौं महाधिवेशन आयोजक कमिटीमा रहेका र १३ सदस्यीय कार्यालयमा पर्ने नेतृद्वय सहसंयोजक क्रान्ति बुर्लाकोटी र अन्जना अधिकारी तथा म्याग्दीका सन्तोस रावल लाहान महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको थियो । युवा संघमा हाल पदाधिकारी रहेका अन्यय कुनै नेताहरु लाहान महाधिवेशनबाट निर्वाचित हुनुभएको होइन । आठौं महाधिवेशनबाट उहाँहरु केन्द्रीय कमिटीमा आउनु भएको हो ।