जनता टाइम्स

११ माघ २०७८, मंगलवार ०७:३८

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव



काठमाडौं, माघ ११ । भक्तपुरका औषधि पसल एवम् फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन गर्‍यौँ, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।’ उहाँले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिनुभयो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पालमा भने सिटामोलको अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा चार हजार पाँच सय सङ्ख्यामा सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफूकहाँ आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।’

ज्वरोको बिरामी बढ्दा बाहिर सिटामोल अभाव भएको हुनसक्ने भन्दै उहाँले भक्तपुर अस्पतालमा दैनिक सात सय जनाभन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताउनुभयो । त्यसमध्येमा दुई सय ५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उहाँले ज्वरोको बिरामी भने निकै बढेको बताउनुभयो ।

कोरोना सङ्क्रमित बिरामी पनि थपिँदै जाँदा अस्पतालको शय्या भरिन थालेको छ । अस्पतालमा रहेको ६ शय्याको आईसीयू कोरोनाका बिरामीले भरिएको र आईसीयू नचाहिने कोरोनाका बिरामीको चाप पनि बढेको छ ।

मेसु डा। गौतमले अस्पतालले दैनिक गर्ने कोरोनाको पीसीआर परीक्षणमा ८५ प्रतिशतसम्म पोजेटिभ आउने गरेकोमा हिजो आइतवार भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोरोना सङ्क्रमण देखिएको छ भन्नुभयो ।