जनता टाइम्स

१८ असार २०७६, बुधबार १३:४३

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज


भद्रपुर, १८ असार

मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक भवन निर्माणमा विनियोजित शत्प्रतिशत रकम फ्रिज भएको हो ।

मेचीनगर–६ काँकडभिट्टास्थित पशु बधस्थलमा निर्माण गर्ने भनिएको बहुमतले व्यापारिक भवनका लागि आव २०७५/७६ को बजेटमा छुट्याइएको रु ५० लाख रकम फ्रिज भएको छ । नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका २२ परिवारलाई व्यवस्थापन गर्न ढिलाइ भएका कारण व्यापारिक भवनको काम चालू आर्थिक वर्षभित्र शुरु गर्न नसकिएको वडाध्यक्ष ललित तामाङले बताउनुभयो ।

यसैगरी मेचीनगर–१० धुलाबारीमा साइन्स सिटी निर्माणका लागि छुट्याइएको रु ६५ लाख बजेट खर्च नभई फ्रिज भएको छ । विज्ञानसम्बन्धी उद्यान बनाउने यो योजना नगरपालिकाको गौरवको योजना मानिएको थियो । वडाध्यक्ष सुदय पनेरुले साइन्स सिटीका लागि निर्धारित स्थानमा अब फुटबल एकेडेमी निर्माणको पहल थालिएको जानकारी दिनुभयो ।

साइन्स सिटीको परियोजना अर्को वडामा लैजाने तयारी भइरहेको समेत उहाँले बताउनुभयो । मेचीनगरलाई खेलकूदको हब बनाउने उद्घोषका साथ आव २०७५/७६ मा मेचीनगर–७ मा क्रिक्रेट रङ्गशाला निर्माण गर्न रु २५ लाख विनियोजन गरिएको थियो । यो बजेटको रकम काम शुरु नभई फ्रिज भएको छ ।

सो वडाका अध्यक्ष चन्दन मेचेले क्रिक्रेट रङ्गशाला निर्माणका लागि वडाका तर्फबाट भरमग्दुर प्रयत्न गर्दा पनि जग्गादातासँग नगरपालिकाले सम्झौता गर्न नसक्दा काम शुरु नै नभएको बताउनुभयो । चालू आर्थिक वर्ष २०७५/७६ मा मेचीनगर नगरपालिकाले रु एक अर्ब १५ करोडको बजेट निर्माण गरेको थियो । आगामी आव २०७६/७७ का लागि मेचीनगर नगरपालिकाले रु एक अर्ब ३४ करोडको वार्षिक बजेट सार्वजनिक गरिसकेको छ ।

नगरका तीन प्रमुख शहरका तीन ठूला गौरवका परियोजनाकै बजेट फ्रिज हुँदा नगरको खर्च गर्न सक्ने क्षमतामाथि प्रश्न उठेको छ । सामाजिक विश्लेषक गोविन्द न्यौपानेले ठूला परियोजनाकै बजेट शत्प्रतिशत फ्रिज हुनुले जनप्रतिनिधिको कार्य क्षमतामाथि प्रश्न उठेको बताउनुभयो । परियोजनाको छनोट सही ढङ्गले गर्न नसकेको र जनप्रतिनिधि विकास निर्माणप्रति प्रतिबद्ध नभएको परिणाम नै विकासका बजेट खर्च हुन नसकेको उहाँले बताउनुभयो ।