चितवन, माघ १३ । संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख मार्ग हो मुग्लिङ–नागढुंगा सडक खण्ड । यस क्षेत्रमा मालवाहक सवारी साधन जहिल्यै बिग्रिदा अन्य सवारी साधन घण्टौं जाममा बस्न बाध्य बन्ने गरेका छ ।
यही समस्यालाई मध्यनजर गर्दै अबदेखि मालवाहक सवारीसाधनका लागि फरक लेनको व्यवस्था गरिने भएको छ । विस्तारको क्रममा रहेको यो सडकअन्तर्गत उकालो क्षेत्रमा गुड्न मालवाहक सवारीलाई सहजता र ट्राफिक व्यवस्थापनका लागि ‘क्लाइम्बिङ लेन’ बनाउन लागिएको नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाका प्रमुख इन्जिनियर किरण कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो‘ यो सडक विस्तार गर्नुको प्रमुख उद्देश्य मालवाहक सवारीसाधनको आवागमनमा सहजता ल्याउनु हो ।
त्यसैले क्लाइम्बिङ लेन राख्न थालेका हौं ।’यो लेन बनेपछि मालवाहक सवारीलाई अन्य सवारीले पछ्याइरहनुपर्ने र कुनै सवारी बिग्रिएर घण्टौं जाममा बस्नुपर्ने अवस्था रहने छैन । चितवनको मुग्लिङदेखि काठमाडौंको नागढुंगासम्मको सडकको लम्बाइ ९४–८० किलोमिटर छ । यो खण्डमा पृथ्वी राजमार्गको ८२–४० किमि र त्रिभुवन राजपथको १२।४० किमि सडक पर्छ । यो सडकलाई तीन खण्ड बनाएर विस्तार भइरहेको छ । जसमा नागढुंगा–नौबिसे (१२.२६ किमि), नौबिसे–मलेखु (४३.५४२ किमि) र मलेखु–मुग्लिङ (३८.८६१ किमि) पर्छन् ।मुग्लिङ–नागढुंगा खण्डमा ३७.७५७ किमि सडकमा क्लाइम्बिङ लेन रहने आयोजना प्रमुख कार्कीले बताउनुभयो ।
मुग्लिङ–नागढुंगा सडक हुँदै दैनिक १२ हजारभन्दा धेरै साना–ठूला सवारीसाधन काठमाडौं छिर्ने गर्छन् । मुस्किलले दुई लेनको मात्रै रहेको यो सडक सवारी चाप, पहिरो र सडक नै पुरानो भएका कारण अवस्था जीर्ण छ । मोडहरू फराकिला छैनन् । उकालोमा मालवाहक गाडी पछ्याउँदा अन्य गाडीको लामै लाम लाग्छ ।मुलुककै लाइफलाइनका रूपमा रहेको सडकको दुरवस्था सुधार गर्न आयोजनाले काम सुरु गरेको हो । यो सडकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप २ लेन, बजार क्षेत्रमा ४ लेन र उकालोमा क्लाइम्बिङ लेनसमेत बनाउने गरी विस्तार गर्न लागिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्