जनता टाइम्स

१३ माघ २०७८, बिहीबार १६:२०

स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन आयोगका पदाधिकारीसँग छलफल गर्दै देउवा


काठमाडौं, १३ माघ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो ।

आयोगले आगामी ५ जेठसम्म मात्र स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल रहेकाले यदि स्थानीय तहको निर्वाचन गराउने हो भने एक सय २० दिनको समय आवश्यक पर्ने भन्दै छिटो निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग छलफल गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन प्रधानमन्त्री देउवाले शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ । शुक्रबार भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ ।