जनता टाइम्स

१५ माघ २०७८, शनिबार १२:१०

सरकार खोज्दै अनेरास्ववियु


दैलेख, माघ १५ । सरकार खोज्दै अनेरास्ववियुले दैलेखमा प्रर्दशन गरेको छ । सरकार कहाँ हरायो ? टर्च लगाएर सरकार खोज्न उठौँ भन्दै अनेरास्ववियुले सांकेतिक आन्दोलन गरेको हो । स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिनुपर्ने लगाएतका माग गर्दै शुक्रबार दैलेख सदरमुकाममा प्रर्दशन गरेको छ ।

अनेरास्ववियुले भारतले नेपालको भूमि मिचेको सन्दर्भमा सरकारको जवाफ माग गर्दै मिचिएको भूमि फिर्ता हुनुपर्ने माग समेत गरेको छ । सदरमुकाममा गरिएको प्रर्दशनपछि अनेरास्ववियु स्थायी कमिटि सदस्य नविन योगीले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा योगीले गठबन्धन सरकारले जनतालाई राहत नभई आहात दिएको बताउनुभयो । अनेरास्ववियु कर्णाली प्रदेश सह–ईन्चार्ज समेत रहेका योगीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले एकपक्षीय सडक निर्माण कार्य गरिरहँदा समेत सरकारको मौनता गम्भिर प्रश्न जन्माएको बताउनुभयो।

उहाँले नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग समेत गरेका छन् । वर्तमान सरकार नसुध्रिए अनेरास्ववियुले थप रचनात्मक आन्दोलन अगाडी बढाउने समेत घोषणा गर्नुभयो । प्रर्दशनका क्रममा अनेरास्ववियुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, देशको सिमा मिचिएको छ ढुंगा बोल्ला तर सरकार बोल्दैन, सिटामोलको हाहाकारमा जनता हामी मन्त्रीज्यूलाई पिर्के सलामी, २४ लाख खोप खै सरकार, टर्च लगाएर सरकार खोज्न उठौँ, सरकार कहाँ हरायो ? जस्ता नाराहरु लगाएका थिए ।