जनता टाइम्स

१५ माघ २०७८, शनिबार २०:५४

तत्काल स्थानीय तहको चुनाव घोषणा नगरे आन्दोलनमा जाने एमाले जनसंगठनको निर्णय, यस्तो छ कार्यक्रम


काठमाडौं, माघ १५ । नेकपा एमालेका सवै जनसंगठनहरुले संबिधानअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहकोनिर्वाचन हुनैपर्ने ब्यवस्थाबिरुद्ध गएर चुनावकोमिति घोषणा नगरे आन्दोलनमा जाने निर्णय गरेका छन । सरकार र सत्तारुढ दलहरुले संबिधानमै किटानी ब्यवस्था भएको तथ्यलाई बाइपास गर्दै बिभिन्न कुतर्क गरेर चुनाव धकेलेर स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने योजना बनाएपछि एमालेका जनसंगठनहरुले आन्दोलनमा जाने निर्णय गरेका हुन ।

एमाले जनसंगठन समन्वय संयन्त्रको आजको बैठकले सरकार स्थानीय तहकोनिर्वाचन खाली गराएर स्थानीय तहमा जनप्रतिनिधिबिहीन बनाउने षडयन्त्रमा लागेको कारण जनताको अधिकार रक्षाका लागि आन्दोलनमा जाने निर्णय गरेको संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

‘संबिधानअनुसार स्थानीय तहको पदावधि जेठ ५ गते सकिन्छ, त्यसपछि स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिले गर्ने काम अरु कसैले गर्न पाउँदैन,’ आन्दोलनमा जानुपरेको कारण खोल्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका संयोजक ढकालले भन्नुभयो, ‘जेठ ५ अगावै निर्वाचन गराउनका लागि सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्छ, अन्यथा हामी आन्दोलनमा जानुको बिकल्प छैन भन्ने सवैको सुझावपछि आन्दोलनको निर्णयमा पुगेको हो ।’

आजको बैठकमा सहभागी २२ ओटै जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरुले सरकार जानाजान स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने षडयन्त्रमा लागेकोले आन्दोलनको बिकल्प नरहेको निश्कर्ष सुनाउनु भएको थियो । बैठकले आइतवार सवै संगठनले छुटेटाछुटै बिज्ञप्तीमार्फत तत्काल चनावको मिति घोषणा गर्न मागसहित आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

यसैगरी सोमवार संयन्त्रले पत्रकार सम्मेलनमार्फत आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । कोभिड महामारीको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै पहिलो चरणको आन्दोलन गर्ने निर्णय संयन्त्रले गरेको छ । आजको बैठकमा एमाले सचिव तथा स्वास्थ्य फाँट इञ्चार्ज योगेश भट्टराईले सरकारले चुनाव नगराउन गरेको षडयन्त्र र आन्दोलनमा जानैपर्ने अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

बैठकपछि संयोजक ढकालले बिज्ञप्ती नै जारी गरी बैशाखमै चुनाव गर्नका लागि तत्काल चुनावको मिति तोक्नुपर्ने बताउनु भएको छ ।