काठमाडौं, माघ १६ । मुगुको सोरु गाउँपालिका ४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाही श्रीमती हाँसु शाहीको औषधि उपचार गर्न संघीय राजधानी काठमाडौं उपत्यकाको पाटन अस्पताल आउनु भयो । ६७ वर्षीय उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्दै गएपछि ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक उहाँ उपचार गर्न काठमाडौं आउनु भएको हो ।
तर, यतिबेला उहाँले बोकेको पैसा सकिएको छ । आफै अरूको सहारा बन्नुपर्ने बेलामा श्रीमतीको सहारा बनिरहेका ७१ वर्षीय शाही पत्नीको उपचारका लागि मनकारीहरुसामू हात थापिरहनु भएको छ । गाउँबाट ऋण सापट गरी ल्याएको रकम काठमाडौं आउँदा बाटोमै सकिँदा शाहीलाई श्रीमतीको औषधि उपचार गर्न निक्कै समस्या भएको छ ।
दमकी बिमारी श्रीमती पाटन अस्पतालको बेडमा छटपटाई रहनु भएको छ । उहाँ भने औषधिको जोहो गर्न अस्पतालको गेटमा छटपटाइरनु भएको छ । ुरुपैयाँ छैन । डाक्टरले यो औषधि किन्नु पर्यो त्यो औषधि किन्नु पर्यो भन्नु हुन्छ,ु शाहीले भन्नुभयो । उहाँले अस्पताल बेडमा रहेकी श्रीमतीको मुख हेर्दै आँसु पुच्नु बाहेक आफूसँग अन्य विकल्प नरहेको पीडा पोख्नुभयो ।
शाहीले आफ्नै भोक मेट्नसमेत गाह्रो भइरहेको बताउनु भयो । उहाँ बिमारी श्रीमती बोकेर गत मंसिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज आइपग्नु भयो । केहीदिन नेपालगञ्जमै आफन्तकोमा डेरा गरेर बस्नुभयो । त्यही श्रीमतीको उपचार गर्नुभयो । काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि श्रीमतीसहित काठमाडौं आइपुग्नु भयो । उहाँका आफन्तले पाटन अस्पताल पुर्याएर भर्ना गरिदिए । तर, यतिवेला उहाँलाई आर्थिक अभावले श्रीमतीको उपचारमा समस्या भइरहेको छ ।
पाटन अस्पतालको तीन तलामाथि आइसियू रुमको ७ नम्बर बेडमा उहाँकी श्रीमतीको उपचार भइरहेको छ । वृद्ध शाहीको शरीरलाई तीन तलमाथि दिनको दर्जनौं पटक तलमाथि गर्न पनि सकस छ । चिकित्सकले अक्सिजन दिएर उपचार गरिरहेका भए पनि शाहीलाई औषधिकै जोहो गर्न पैसाको निकै समस्या छ । काठमाडौंमा ज्यालामजदुरी गर्दै आएका उहाँका छोरी ज्वाइँ पनि अस्पतालमै हुनुहुन्छ ।
उहाँहरूसँग पनि पैसा छैन । भएको पैसा दिएका उहाँहरूलाई पनि अब उपचार खर्च कसरी जुटाउने भन्ने समस्या छ । आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन शाही अस्पताल आइपुग्नु भएको छ । घरमा भएको पैसा बोकेर आएका उहाँसँगको पैसा पनि सकिएको छ । उहाँले गह भरी आसु पार्दै अब आमालाई कसरी बचाउने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्