जनता टाइम्स

१८ असार २०७६, बुधबार १५:४४

बेनी–बरङ्जा सडकको स्तरोन्नति


म्याग्दी, असार १८

म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ । विसं २०६३ मा ट्र्याक मात्रै खोलिएको सो सडकको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नति गरिएको हो ।

सडक फराकिलो बनाउने, जमीनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ ।

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन् । यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।