जनता टाइम्स

१६ माघ २०७८, आईतवार १२:१७

कांग्रेसबाटै निर्वाचित गाउँपालिका अध्यक्षले गरे चुनाव नभए जेठ ४ मै पद त्याग्ने घोषणा


सुर्खेत, माघ १६ । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने ओलीको घोषणा छ ।

वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उहाँले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । ओलीले भन्नुभएको छ, ‘सरकारले चुनाव घोषणा गरेन भने पनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७० साल जेठ ४ गते ठिक १ बजे नै जनताका नाममा सपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’

नेपाली कांग्रेस दैलेख जिल्ला कार्यसमितिका सचिवसमेत रहनुभएका ओलीले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको अवधि आगामी ५ जेठमा सकिने बताउनु भयो । ‘हामीले २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा निर्वाचित भएपछि जेठ ४ गते १ बजे शपथ खाएका हौं,’ उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले पनि त्यसै मितिसम्म निर्वाचन गरोस् । यदि सरकारले जेठ भित्र निर्वाचन नगरे मैले शपथ खाएको मितिअनुसार नै पदबाट राजीनामा दिन्छु ।’