जनता टाइम्स

१९ माघ २०७८, बुधबार ०७:०६

जनगणनाका लागि लिएका विधि र सिद्धान्त सही छैनन : सुरेन्द्र पाण्डे


काठमाडौं, माघ १९ । प्रतिनिधिसभा, अर्थ समितिमा भर्खरै सम्पन्न १२ औँ राष्ट्रिय जनगणनामा सङ्कलन भएको तथ्याङ्कको आधिकारिकतामाथि प्रश्न उठाइएको छ । समितिको बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनगणना सङ्कलनका लागि लिइएको विधि र सिद्धान्त नै ठीक नभएको भन्दै प्रश्न उठाउनु भएको हो ।

“प्रश्न गुणस्तरीय भए उत्तर पनि गुणस्तरीय आउँछ, अनुसन्धान विधिमा क्वालिटी प्रश्नले क्वालिटीकै उत्तर खोज्छ, प्रश्न कस्तो बनाइन्छ त्यसअनुसारको उत्तरको पूर्वानुमान गर्न सकिन्छ,” पाण्डेले भन्नुभयो । कृषि उत्पादनमा कर नलाग्ने भएकाले धेरैले आयस्रोत कृषक देखाउने गरेको घटना सुनाउँदै पाण्डेले २० कुखुरा पाल्नेलाई कृषक मान्न सकिन्छ र भनी प्रश्न गर्नुभयो । पछिल्लो जनगणनाले ६८ प्रतिशत कृषिमा आश्रित रहेको देखाएको छ त्यो नै गलत भएको टिप्पणी गर्दै उहाँले १० वर्षयता जमिनको बिक्री खेतीका लागि नभई मुनाफा र घडेरी कारोबारका लागि हुँदैआएको बताउनुभयो ।

समितिका सभापति कृष्णप्रसाद दाहालले वर्षमा १० महिना बस्ने स्थानमा होइन दुई महिना बस्ने स्थानमा मतगणना गर्ने पद्धतिमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै सरकार र विभागको तथ्याङ्कबीच नै कसरी एकरुपता हुन सकेन भनी जिज्ञासा राख्नुभयो । समितिका सचिव डा सुरेन्द्र अर्यालले संसदीय समिति सदस्यबाटै जनगणनाको विश्वासनीयतामाथि प्रश्न उठाएको अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय सांसदबाटै तथ्याङ्क लिन छुटेको भन्ने कुरा आएपछि विश्वासनीयताको प्रश्न उठेको हो । आगामी १० वर्षसम्म मुलुकका योजना यही तथ्याङ्कका आधारमा तयार गरिने हुँदा राज्यको ढुकुटी सही सदुपयोग हुन सक्छ कि सक्दैन भनी प्रश्न उब्जन दिन हुन्न ।”

तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले कोभिड–१९ को महामारीको असहज अवस्थामा पनि इमान्दार र लगनशील भएर समयमै सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रारम्भिक मोटामोटी तथ्याङ्क सार्जजनिक गरिएको हो, पूर्ण र विस्तृत होइन, मसिनोसँग केलाएर पछि ल्याइनेछ, सत्यको नजिक पुग्ने प्रयास भएको छ, गणनामा प्रश्नावलीको भार धेरै भएकाले केही अलमलजस्तो परेको हो ।” पछिल्लो जनगणनाका विषयमा अनेकौँ प्रश्न उठेपछि समितिले विभागका महानिर्देशक, पदाधिकारीलगायतलाई बोलाएर छलफल गरेको हो ।