जनता टाइम्स

१९ माघ २०७८, बुधबार १६:५७

गठबन्धन जोगाउन एमसीसी पारित गर्ने माधव नेपालको खुलासा


काठमाडौं, माघ १९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पारित गर्ने खुलासा गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनका एक सदस्य नेपालले आफू निकट बिद्यार्थी संगठनले आज आयोजना गरेको कार्यक्रममा देउवा नेतृत्वका गठबन्धन नटुटने भन्दै एमसीसी पारित गर्न आफूहरु तयार भइसकेको तथ्य खोल्नुभएको हो ।

प्रधानमन्त्री देउवाले अव बस्ने संसद बैठकमा एमसीसी प्रस्तुत गर्ने अडानसहित पारित गर्न सहयोग नगरे गठबन्धन टुटने चेतावनी माधवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई दिनुभएको थियो । एमसीसीको चर्काे बिरोध गर्दै आउनु भएका नेपालले आज प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको बार्तापछि गठबन्धन नटुटने भन्दै एमसीसी पारित गर्न आफूहरु तयार भइसकेको प्रष्ट संकेत गर्नुभयो ।

नेपालले गठबन्धन टुटाउने षड्यन्त्र सफल हुन नदिने पनि बताउनु भयो । गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको र आफूहरु जसरी पनि जोगाउने बताउनु भयो । ‘अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी छैन । भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो छलफल भएको छ । गठबन्धनलाई अझै मजबुत बनाउने कुरा भएको छ’, नेपालको भनाई थियो ।