जनता टाइम्स

१९ माघ २०७८, बुधबार १७:१८

अस्थिरताका पात्र प्रचण्ड–माधवसँग अव एमालेको सहकार्य संभव छैन : प्रदीप ज्ञवाली


काठमाडौं, माघ १९ । नेकपा (एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई अस्रितातर्फ धकेल्ने प्रमुख पात्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग अव एमालेको कुनै पनि सहकार्य नहुने बटमलाइन सुनाउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने अडान राखेर गठबन्धन टुटने चेतावनी दिएपछि एमालेसँग हामी मिल्न सक्छौं भन्दै प्रचण्ड र माधवले धम्क्याएको सूचाना बाहिर आइरहेको बेला उपमहासचिव ज्ञवालीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

सम्भावित तीनै तहको निर्वाचनमा हुने गठबन्धनको कुरा गरेपछि ज्ञवालीले अस्थिरताका पात्रहरु (माधव–प्रचण्ड) सँग एमालेको सहकार्य संभव नहुने जवाफ दिनुभएको हो । २०७४ सालको संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य गरेर जितेको माओवादीले पार्टी एकतासमेत तोडेर कांग्रेस नेतृत्वको सरकार बनाएर केही थान मन्त्री हात पारेको छ । अहिले प्रधानमन्त्रीले आफ्नो योजनामा सहयोग नगरे गठबन्धन तोडने बताउनु भएपछि जवाफमा हामी त कम्युनिष्ट हौं, एमालेसँग मिल्न सक्छौं नि भन्ने कुरा हेक्का राख्नोस भन्दै धम्क्याउने गरेको सूचना बालुवाटारबाटै बाहिरिएको थियो ।

यही प्रसंगलाई संकेत गर्दै एमाले उपमहाचिव ज्ञवालीले अव यो कुरा संभव नहुने बताउनु भएको हो । गठबन्धनले झन् अस्थिरता ल्याएको ज्ञवालीको भनाई छ । ‘फेरि पनि अस्थिरताका पात्रसँग मिलेर जाने पक्षमा एमाले छैन, यो कुरा प्रष्टसँग सवैले बुझ्दा हुन्छ,’ आगामी निर्वाचनबारे राष्ट्रिय युवा संघले आज काठमाडौंमा गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले भन्नुभयो ।