जनता टाइम्स

१९ माघ २०७८, बुधबार १७:४४

एमाले सचिवालयले लियो बोल्ड निर्णय (सूचीसहित)


काठमाडौं, माघ १९ । नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ । केन्द्रीय सचिवालयको बुधवार बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिएको हो ।

फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना एमालेले बनाएको छ । नेकपा एसमा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिलेखबाट हटाउने र सदस्यता अद्यावधिक गर्ने गरि नयाँ योजना बनाइएको छ ।एमालेले पार्टी सदस्यता शूल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न समेत निर्देशन दिएको छ । बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ भने प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको छ ।

केन्द्रीय प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ । यस्तै बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ ।

बैठकले बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।